
पोखरा,
मनोक्रान्ति प्रणेता डा। योगी बिकासानन्दले विहिबार पोखराको बरपिपल रिसोर्टमा आयोजित प्रेरणादायी “मोटिभेसनल स्पिच कार्यक्रमू सम्बोधन गर्दै सकारात्मक सोच, अनुशासित जीवनशैली र समय व्यवस्थापनका महत्वपूर्ण पक्षहरूमा जीवन्त प्रस्तुति दिनु भएको थियो।
कर्मचारीहरूको व्यक्तित्व विकास र मनोबल अभिवृद्धिका लागि आयोजित कार्यक्रममा प्रमुख वक्ता डा। योगी बिकासानन्दले जीवनमा अनुशासन र समयको उचित सदुपयोग नै सफलताको मुख्य आधार हुने दाबी गर्नुभयो ।
डा। बिकासानन्दले समयमै सुत्ने र समयमै उठ्ने, दैनिक कम्तिमा ६ देखि ९ घण्टा पर्याप्त निन्द्रा लिनु पर्ने र आफैँलाई माया गर्नु पर्ने ‘लभ योरसेल्फ’ को अवधारणालाई जीवनको पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नु भयो।
कार्यक्रममा बिशेष अतिथि गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले अहिले जता पनि नकारात्मकता र अराजकता बढिरहेको बताउदै समाज र ब्यक्तिलाई रुपान्तरणका लागि यस्ता कार्यक्रम उपयोगि हुने बिश्वास ब्यक्त गर्नु भयो । यस्ता कार्यक्रमहरूले व्यक्तिको आन्तरिक क्षमतामा सुधार ल्याउनुका साथै संस्थागत सफलतामा दीर्घकालीन रूपमा राम्रो हुने उहाँको भनाई थियो ।
बरपिपल रिसोर्टका अध्यक्ष तथा प्रबन्ध निर्देशक जितु गुरुङले प्रशिक्षणले आफ्ना कर्मचारीहरूमा नयाँ ऊर्जा, सकारात्मक सोच र समय व्यवस्थापनको चेतना जागृत गराएको विश्वास व्यक्त गर्नुभयो । कर्मचारीहरूलाई यस्तो अवसरलाई जीवनमा सकारात्मक रूपान्तरण ल्याउने माध्यमको रूपमा लिई कार्यस्थलमा कार्यकुशलता र अनुशासन बढाउन उहाँले आह्वान गर्नु भयो। बरपिपल रिसोर्टका कर्मचारीहरूको व्यक्तिगत तथा व्यावसायिक विकासमा सहयोग पुर्याउने र उनीहरूमा सकारात्मक ऊर्जा तथा आत्म–प्रेरणा भरिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको रिसोर्टले जनाएको छ ।






