सामाजिक संजाललाई ब्यबस्थित र नियमन गर्न सके संचार क्षेत्रमा अबौंको बिज्ञापन आउछःः मन्त्री गुरूङ

-


     पोखरा क्लिक     
     असार ५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ५, असार.

नेपाल सरकारका सूचना संचार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सामाजिक संजाललाई ब्यबस्थित र नियमन गर्न सके संचार क्षेत्रमा अबौंको बिज्ञापन प्राप्त हुने बताउनु भएको छ । नेपाल पत्रकार महासंघले विहिबार पोखरामा आयोजना गरेको सामाजिक सुरक्षा कोषमा बृहत आवद्वता सम्बन्धि पत्रकारसंग संवाद कार्यशालामा सम्बोधन गर्दै उहाँले धेरै कर्पोरेट हाउसको विज्ञान हाल सामाजिक संजाल मार्फत गएकोले अब सामाजिक संजाललाई सरकारले नियमन गर्ने वित्तिकै संचार माध्यम मार्फत उक्त बिज्ञापन प्राप्त हुने दाबी गर्नुभयो ।

सामाजिक संजालले समाजमा धेरै नकरात्मक सन्देश प्रवाह गरेकोले त्यसको नियमन र अनुगमन गर्न सके संचार क्षेत्र नै आर्थिक रुपमा बलियो हुने मन्त्री गुरुङको तर्क थियो । अबौंको बिज्ञापन हाल सामाजिक संजालमा गएकोले यसको नियमन गर्न सके उक्त रकम संचार माध्यममा आउने उहाँको भनाई थियो । पोखरा क्षेत्रबाट मात्र करिब ३० करोडको विज्ञापन हुने भए पनि हाल संचार माध्यमको पहुचमा मुस्किलले २ करोड हुने गरेको मन्त्री गुरुङले सुनाउनु भयो ।

कुनै विचार राखेको भरमा नेपाल सरकार र जुन सुकै दलले बिरोध गर्न नहुने जनाउदै उहाँले पत्रकारले सत्य र तथ्यका आधारमा समाचार प्रकाशन तथा प्रशारण गरणन आग्रह गर्नु भयो । पत्रकारको पेशागत सुरक्षाको लागि सरकारले सहयोग गर्ने मन्त्री गुरूङले जनाउनु भयो । आम संचार विधेयक ड्राफ गर्दै विभिन्न संघ संस्थासंग छलफलकै क्रममा रहेको उहाको भनाई थियो । प्रेस जगतलाई मर्यादित बनाउन मन्त्री गुरूङले आग्रह गर्दै मिडिया मैत्री मिडिया विधेयक ल्याउने उल्लेख गर्नुभयो । पत्रकारहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा लैजान सुझाव लिनु भयो ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले रोजगार दाताले समयमै कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा नलगे भइ परि आउने जोखिम रोजगारदाताले नै लिनु पर्ने बताउनु भयो । जति धेरै सहभागी उतिनै दिगोपन हुने उहाँको भनाई छ । सामाजिक सुरक्षा कोषमा हालसम्म २३ लाख १४ हजार जना आबद्ध भएको कार्यकारी निर्देशक अधिकारीले उल्लेख गर्नु भयो । उक्त कोषमा १ खर्ब २० खर्ब रकम संकलन भई १५ अर्ब २० करोड रुपैया भने दाबी भुक्तानी गरिएको उहाँले बताउनु भयो । १ सय १५ वटा पालिकामा सम्झौता भएको कोषले जनाएको छ ।

गण्डकी प्रदेशका प्रेस रजिस्टार बिमला भण्डारीले पत्रकार हकहितको लागि सामाजिक सुरक्षा कोषमा आबद्ध हुने मिडियालाई प्रोत्साहन गर्ने बताउनु भयो । सामाजिक सुरक्षा कोषका उप कार्यकारी निर्देशक कृष्णराज नेपाल, निर्देशक उत्तमराज नेपालले सामाजिक सुरक्षा कोष सम्बन्धि सहजीकरण गर्नु भएको थियो । पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, जिल्ला अध्यक्ष माधव बराल लगायले वोल्नु भएको थियो ।

सामाजिक सुरक्षा कोषद्वारा औपचारिक क्षेत्रका श्रमिकहरूलाई प्रदान गरिने विविध १८ वटा सेवाहरू पर्दछन् । यसमा मातृत्व, सुत्केरी, पितृत्व, अपांगता र आकस्मिक उपचार जस्ता स्वास्थ्य तथा सुरक्षा सम्बन्धी लाभहरू समावेश छन्। साथै, सेवा निवृत्ति पेन्सन, मृत्युपछिको पारिवारिक लाभ, बेरोजगारी भत्ता र आवास कर्जाजस्ता आर्थिक सहायताहरू बारे पनि समेटिएको छ। यसका अतिरिक्त, बालबच्चाको शिक्षा, स्वास्थ्य र दुर्घटना बीमा का साथै स्वयं योगदानकर्ता र विदेशमा कार्यरत श्रमिकहरूका लागि योजनाहरू समेत यस कोषका महत्त्वपूर्ण सेवाहरू रहेको कोषले पोखराक्लिकलाई जनाएको छ । समग्रमा, यो कोषले श्रमिकहरूको जीवनका विभिन्न चरणहरूमा सुरक्षा र सहायता प्रदान गर्ने लक्ष्य राखेको छ भने जोखिम बहन गर्ने भएकोले यसमा आबद्ध हुनु आवश्यक छ ।



This will close in 20 seconds