
दीननाथ बराल,
पोखरा ३, कार्तिक,
नेपाल समाजबादी पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेको बिषयमा निर्दोष भए फसाउन नहुने र दोषी ठहर गरे उम्कन नहुने बताउनु भएको छ । नेपाल समाजबादी पार्टीले आज (शनिबार) पोखरामा आयोजना गरेको विधान महाधिवेशनको तयारीको बारेमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
रविको बिषयमा राम्रो होस भन्ने कामना गर्दै संयोजक डा. भट्टराईले सत्यता नभए पनि न्यायलयलाई रवि आफैले सघाउछु भन्नुले उहाँ प्रति सहानुभूति समेत व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भयो “लोकतन्त्र भनेको विधिको शासन हो, पारदर्शीता हुनु पर्छ, विधिको शासन हुनु पर्छ, ठुलो सानो जो कसैलाई पनि अन्याय गर्न हुदैन, निर्दोष भए फसाउन हुदैन तर कोही दोषी छ भने जतिसुकै ठुलो र बलियो भए पनि उम्कन हुदैन् । ” अदालतमा पुगेको बिषय भएकोले रवि लामिछानेको बिषयमा धेरै वोल्न नहुने उहाँले तर्क गर्नु भयो ।
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले अप्ठ्रो पर्दा सम्झने तर पछि बिसर्ने समस्या रहेकोले गर्दा माओबादीसंगको सम्बन्ध राम्रो हुन नसकेको उहाँले जनाउनु भयो । वैकल्पिक राजनीतिक अभियानमै आफुहरु कटिबद्ध भएर लागेको संयोजक डा.भट्टराईले बताउनु भयो । देशमा आर्थिक आधार पछि परेकोले त्यसलाई अघि बढाउन पार्टीले चाहेको उहाँको भनाई थियो । समता मुलक तिव्र समृद्धिलाई मुख्य रुपमा अघि बढाउनु पर्ने अहिलेको अबस्था रहेको संयोजक डा.भट्टराईको भनाई थियो ।
देशमा रहेको भ्रष्टचार र अनियमिततालाई रोक्न र देशलाई शुसासनको बाटोमा लैजानको लागि बलियो शक्तिशाली जनपाल संस्थाको स्थापना अनिवार्य रहेको उहाँको भनाई रहेको छ । अन्यथा सक्तामा हुदा अर्काेलाई दोषी देखाउने पटक पटक सरकार परिवर्तन हुने लगायतका समस्या निम्तिनु नेपालको प्रमुख समस्या भएको संयोजक डा. भट्टराईको बुझाई छ । पार्टीको अधिवेशन पछि सडक, सदन र सरकारलाई प्रयोग गरी तीन तहमा शक्ति केन्द्रिकृत गरी शक्ति सहकार्य गरी नेतृत्व गर्ने पार्टीको योजना रहेको उहाँको भनाई थियो ।
यही कार्तिक ५ र ६ गते पर्यटनको राजधानि पोखरामा पार्टीको बिधान अधिवेन हुने जसमा ४ सय भन्दा बढी देशभरबाट प्रतिनिधिहरु सहभागि हुने बताइएको छ । वैकल्पिक राजनीतिक शक्ति निमार्णको औचित्य र वैचारिक आधार, वैकल्पिक शक्तिको मूल वैचारिक–राजनीतिक प्रतिवद्धता, वैकल्पिक शक्तिको संगठनात्मक सिद्धान्त र प्रतिवद्धताहरु, आर्थिक विकास तथा समृद्धिको अवधारणा, लक्ष्य र नीतिहरु, लोकतन्त्रको समृद्धीकरण, सुशासन, सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध र नयाँ वैकल्पिक शक्ति निर्माण र समुन्नत समाजवादको अपरिहार्यता लगायतका बिषय सूचि अधिवेशनमा छलफल हुने भएको पार्टीले जनाएको छ ।






