
दीननाथ बराल,
पोखरा २५, असोज,
दशैं पर्वको अवसरमा पोखरामा बिक्रिको लागि ल्याइएको भेडा–च्याङग्रा सप्तमी (विहिबार) मै बिक्रि भएकोले खसिको मासुको मुल्यमा बृद्धि भएको छ । यस बर्ष सप्तमी मै भेडा–च्याङग्रा बिक्रि भएकोले त्यसको प्रभावले खसि वोकाको माग गढेकोले आफुहरुलाई खसि वोकाको व्यबस्थापन गर्न कठिन भएको पोखरा खसि बोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले पोखरा क्लिकलाई बताउनु भयो ।

लेखनाथ भण्डारढिकबाट च्याङग्रा खरिद गर्न आएको एक टोली । तष्विर पोखरा क्लिक ।
शुक्रबार बिहान ११ः०० बजे सम्म खसि तथा वोकाको प्रतिकेजी ६ सय १० मा जिउँदो खसि वोका बिक्रि भएकोमा अत्याधिक माग भएकोले त्यसको मुल्यमा बृद्धि भएको उहाँको भनाई थियो । हाल आफुहरुले जिउदो खसि तथा वोकाको प्रति केजी ६ सय ५० देखि ६ सय ६० सम्ममा बिक्रि गर्न थालेको अध्यक्ष श्रेष्ठले जनाउनु भयो ।

आफुहरुले यस बर्षको दशैं पर्वलाई लक्षित हुने गरी करिब ५ हजार खसि वोका बिक्रिको लागि राखिएकोमा हाल यो समाचार तयार पार्दा (दिउसो २ः०० बजे) सम्म १ सय ४० वटा मात्र खसि वोका बिक्रि हुन बाँकी रहेका छन् । माग भएकोले गण्डकी प्रदेशका स्याङजा, नवलपुर, गोर्खा, पाल्पा, तनहुँबाट खसि वोका पुनः मगाउन लागेको समितिले जनाएको छ । बजारमा खसिको तयारी मासु १ हजार २ सय रहेको छ भने च्याङग्रा २ हजार २ सय मा बिक्रि भएको छ ।
हिमालपारीको जिल्ला मनाङ, मुस्ताङ लगायतका क्षेत्रबाट यस बर्ष दशैं पर्वको अवसरमा पोखरामा बिक्रि गर्न ल्याएका भेडा–च्याङग्रा सप्तमी (विहिबार) मै सकिएकोले शुक्रबार बिहान देखि खरिद गर्न ठुलो सङख्यामा सो क्षेत्रमा पुगे पनि रिक्तो हात फर्किनु परेको थियो । पोखराक्लिकको टोली फिल्ड भिजिटमा जादा पोखरा भण्डारढिकका हिमलाल आचार्य सहितको टोली भेडा–च्याङग्रा खरिद गर्न हेमजासम्म पुग्नु भएको थियो । उहाँको टिमले भने सो क्षेत्रमा एउटा पनि भेडा–च्याङग्रा खरिद गर्न त के कुरा देख्न पनि पाउनु भएन् । यसपाली भेडा–च्याङग्रा सुरुमा शहुलियत दरमा बिक्रि भयो, बिचमा केही महङगो भयो सप्तमीमा भएका भेडा–च्याङग्रा २५ हजार देखि ४५ हजारमै बिक्रि भएको स्थानियले बताउनु भयो ।
पोखरामा यस बर्ष करिब ७ हजार भन्दा बढी भेडा–च्याङग्रा भित्रिएको बताइन्छ । मासु पसलमा भने प्रतिकेजी तयारी भेडा–च्याङग्राको मासु २ हजार २ सय देखि २ हजार ४ सयसम्म र खसि वोकाको १ हजार २ सय देखि १ हजार २ सय ५० मा बिक्रि भएको छ ।






