
खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक पुम्दी–भुम्दीमा सम्पन्न हुन लागेको पर्वतीय दौड प्रतियोगितामा समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई विशेष सम्मान गरिने भएको छ ।
‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ भन्ने उद्घोषका साथ यही असोज १२ गते शनिबार (भोलि) बिहान ७ बजेदेखि सुरु हुने उक्त प्रतियोगितामा समाजसेवी बराल र धावक गुरुङलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको करकमलबाट सम्मानित गरिने कार्यक्रम रहेको संयोजक दीननाथ बरालले जानकारी दिए ।
पोखरा–२२ कास्कीमा जन्मेका बहुआयामिक व्यक्तित्वका धनी चन्द्रकान्त बरालले आफ्नो जीवनको उर्जाशील समय समाजसेवा, उद्यमशीलता तथा पर्यटन प्रवद्धन क्षेत्रमा समर्पण गरी सभ्य, समृद्ध, समतामुलक समाज निर्माणमा मन, वचन, कर्मले क्रियाशील रहेर पु¥याएको योगदानको कदर गर्दै समाजेवा, उद्यम तथा पर्यटन क्षेत्रतर्फबाट उनलाई सम्मान गर्न लागिएको हो ।
यसैगरी, चार भञ्ज्याङ्ग खाल्टे पर्वतमा जन्मेर ब्रिटिश सेनामा सेवारत रहँदा नेपालको विरता एवम् सुरताको उच्च नमूना प्रदर्शन गर्दै ब्रिटिस आर्मीको लेफ्टिनेन्ट पदबाट सेवा निवृत्त जीवन बिताउँदै आएका बहुआयामिक व्यक्तित्व हुन् कुसान गुरुङ ।
उनले खेलकुदका माध्यमबाट नेपाल राष्ट्र र नेपाली राष्ट्रियतालाई विश्वसामु सुपरिचित गराउँदै अन्तर्राष्ट्रिय खेलाडीका रूपमा आफूलाई स्थापित गरी मलेसियामा आयोजित माउन्ट किना बालु हाफ म्याराथनमा ह्याट्रिक गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका १९ बढी म्याराथनमा सहभागी भई खेलकुदको विकास एवम् विस्तारमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको आयोजक सञ्चार गृह पोखरा क्लिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगितामा नेपाल, बेलायत र ब्राजिलका ७१ पुरुष र ३३ महिला धावक गरी १०४ जनाले भाग लिँदैछन् । प्रतियोगितामा सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र ९ वर्षीय बालकको समेत सहभागिता रहेको छ ।
विश्व शान्ति स्तुपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क निगाले डाँडासम्म पुगेर टुंगिने ८ किमी उक्त दौड प्रतियोगितालाई लक्षित गरेर वडा २२ ले अप्ठ्यारो बाटो मर्मत गरिसकेको र प्रतियोगितालाई पोखरा २२ को गौरवका रुपमा लिएर सिङ्गो वडा परिचालन गरिएको वडा २२ का अध्यक्ष हिमलाल बरालले जानकारी दिएका छन् ।
खुला, महिला, पोखरा २२ वडास्तरीय र यू–१६ गरी ४ इभेन्ट समावेश प्रतियोगिताका विजेताले खुलातर्फ प्रथम, द्वितीय तृतीयले क्रमशः २५ हजार, १५ हजार र ७ हजारसहित ट्रफी प्राप्त गर्ने छन् । यस्तै वडा, महिला तथा यू–१६ धावकमध्ये उत्कृष्ट एक–एक जनाले नगद ७ हजारसहित ट्रफी हात पार्ने छन् ।
विश्व शान्ति दिवस एवं विश्व पर्यटन दिवस सन्दर्भमा आयोजित प्रतियोगितालाई सफल पार्नका लागिपोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय गण्डकी प्रवद्र्धक रहेको छ ।
उक्त कार्यक्रममा मादी गाउँपालिका, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा २२ वडा कार्यालय, पोखरा ३, वडा ६, वडा ८ र वडा १७ वडा कार्यालय, नेलम्बो नेपाल, नेपाल भूतपूर्व खेलाडी मञ्च, खाडेखोला मैत्रीय आमा समूह, अटो वेज प्रालि, वाई यूके सुपर मार्केट, एथ्लेटिक्स संघ गण्डकी, बुद्ध पार्क समिति, पुम्दीकोट माउण्टेन लज, विश्व शान्ति स्तूप समिति, पोखरा ८ वडा कार्यालय, सहारा क्लब पोखरा, पुम्दीकोट कोट विकास समिति, कर्माचार्य ग्रुप, युनाइटेड क्लब, परिचय एड्भरटाइजिङ, वल्र्ड भिजन, जिल्ला समन्वय समिति, बुम¥याङ रेष्टुरेण्ट, एस.के. साउण्ड एण्ड भिजन, खेलकुदकर्मी विश्व तण्डुकार, टान गण्डकी, पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, सिटिजन फर्निचर, हिमालयन कम्प्युटर, ग्लेज ड्रिकिङ वाटर, बराल पार्टी प्यालेस, प्रादेशिक क्रिकेट संघ गण्डकी, वुल्स मेन क्लब, सहास स्पोर्टस्, टाइगर ग्रुप अफ पोखरा, होटल वाराही, सेमियोग टुरिष्ट रिसोर्ट, युआरएल, लक्ष्मी हाउस, पुइमे फास्टफुड, लेकसाइड होटेलियर्स क्लब, होटल मुस्ताङ लेते एण्ड थकाली, फेवा टेलिभिजन, इजि ग्रप, साहस स्पोर्ट, रेवान पोखरा, हवाई खेलकुद संस्था (ना), पोखरा पर्याटन परिषद्, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी हाइटेक कम्प्युटरलगायतको सहयोग छ ।
पर्यटनको राजधानी पोखराको वडा २२ का प्रमुख पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति र बुद्ध पार्कको प्रचारप्रसार र पोखरा घुम्न आउने पर्यटकको एक दिन भए पनि बसाइँ लम्बिने आयोजकको विश्वास छ ।
दौडका लागि बिहीवार पत्रकार सम्मेलन गरी दौडको तयारी पूरा भएको र निर्धारित समयमै प्रतियोगिता सम्पन्न हुने कार्यक्रम संयोजक दीननाथ बरालले जानकारी दिए ।
सम्मेलनमा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, पत्रकार महासंघ कास्कीका कावा अध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।
प्रतियोगिताका लागि पोखरा क्लिकले प्रदेश खेलकुद परिषद्सँग स्वीकृति सहमति लिएर परिषद्द्वारा तय गरिएका सम्पूर्ण मापदण्ड पूरा गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यक्रम व्यवस्थापक सागर सुनारले जानकारी दिए । प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सञ्चार गृहले विभिन्न ९ उपसमिति गठन गरेर कुशलतापूर्वक परिचालन गरिसकेको छ ।
पोखरा क्लिकले अन्तर्राष्ट्रिय शान्ति तथा पर्यटन दिवसकै सन्दर्भ पारेर हरेक वर्ष आफ्नो वार्षिक कार्यक्रमका रूपमा पर्वतीय दौड शुरु गरिएको जनाएको छ ।
स्मरण रहोस्, पोखरामा यस अघि अर्मला कोट युवा क्लबले पोखराको केआईसिंहपुलदेखि अर्मलाको खेल मैदानसम्म करिब १२ किलो मिटरको पर्वतीय दौड प्रतियोगिताको छैठौं संस्करण २०७८ सालमा सम्पन्न गरेको थियो ।







