गैराकोचौताराबाट फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु, दुई घाइते

-


     पोखरा क्लिक     
     भाद्र १९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १९ भदौ,

पोखरा महानगरपालिका–१८ गैराकोचौतारा घुम्तीबाट भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सडकको घुम्तीमा सुरक्षा संरचना अभाव रहेको स्थानबाट कार करिब २० मिटर तल फेवातालमा खसेको हो।

आज (शुक्रबार) बिहान करिब ४ः५० बजे सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कार गैराकोचौतारा घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट तल फेवातालमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रहरी निरीक्षक सुजनकुमार देवकोटाका अनुसार कारमा चार जना सवार थिए। दुर्घटनालगत्तै प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार सुरु गरेको थियो।

दुर्घटनाबाट घाइते भएका भारतको बिहार प्रदेश, मोतिहारी जिल्ला, रक्सौल घर बताउने २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवलाई जीवितै उद्धार गरिएको थियो। दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उहाँहरूको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ। घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेक्वा कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा १३ जनाको टोली समेत उद्धारमा परिचालन गरिएको थियो।

उद्धार टोलीले बिहान करिब ५ः५५ बजे फेवातालको पानीभित्रबाट थप दुई जनालाई अचेत अवस्थामा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याएको थियो। तर अस्पताल पुर्‍याइएका दुवै जनालाई चिकित्सकले बिहान ६ः२१ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा भारतको बिहार प्रदेश, इस्ट चम्पारण जिल्ला, रक्सौल घर भएका २६ वर्षीय नवदीप कुमार यादव रहेका छन्। उनको परिचय आधार कार्डबाट खुलेको प्रहरीले जनाएको छ।

त्यस्तै, आधार कार्डबाट २६ वर्षीय प्रियान्सु पाण्डे, रक्सौल, भारतका रहेको खुले पनि उनको मृत्यु भएको सम्बन्धमा प्रहरीले थप पुष्टि तथा अनुसन्धान गरिरहेको जनाएको छ। दुर्घटनामा परेको भारतीय नम्बर प्लेटको कारलाई उद्धार टोलीले क्रेनको सहायताले बिहान करिब ६ः२० बजे फेवातालबाट बाहिर निकालेको थियो। कारलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको प्रहरीले जनाएको छ।

तारबार र सुरक्षा संरचना नहुँदा जोखिम

दुर्घटना भएको गैराकोचौतारा नजिकको घुम्तीमा तालतर्फको भागमा पर्याप्त तारबार तथा सुरक्षा संरचना नहुँदा नियन्त्रण गुमाएको कार सिधै फेवातालमा खसेको स्थानीयको भनाइ छ। स्थानीय नारायणप्रसाद शर्माले उक्त स्थानमा सडक सुरक्षाका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार घुम्तीको भागमा तारबार नहुँदा सवारीसाधन सडकबाट सिधै तालतर्फ खस्ने जोखिम रहेको छ।

उहाँले घुम्ती रहेको स्थानमा डाँडा कटान गरी सडक फराकिलो बनाउन स्थानीय जनप्रतिनिधिसँग माग समेत गर्नुभएको छ। सडक साँघुरो र घुम्ती जोखिमपूर्ण रहेकाले दुर्घटना न्यूनीकरणका लागि तत्काल सुरक्षा संरचना निर्माण गर्नुपर्ने उहाँको भनाइ छ। गैराकोचौतारामा भएको यो दुर्घटनाले पोखराको व्यस्त पर्यटकीय सडकखण्डमा सडक सुरक्षाका लागि आवश्यक तारबार, रेलिङ तथा अन्य पूर्वाधारको अवस्थामाथि समेत गम्भीर प्रश्न उठाएको छ। विशेषगरी फेवातालतर्फ सवारीसाधन खस्न सक्ने जोखिमयुक्त घुम्तीमा सुरक्षा संरचना नहुँदा सामान्य सवारी दुर्घटना पनि ज्यानै जाने दुर्घटनामा परिणत हुन सक्ने देखिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।