
पोखरा,
पोखरामा सुरु भएको नेपाल–भारत त्रिदिवसीय मैत्रीपूर्ण पुरुष ह्याण्डबल सिरिजमा नेपाली युवा टोलीले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको पहिलो खेलमा नेपाली युवा टोलीले भारतको यू–२५ टोलीलाई १७–१३ गोलअन्तरले पराजित गर्दै सिरिजमा १–० को अग्रता बनाएको हो ।
हालै बंगलादेशमा सम्पन्न यू–१८ तथा यू–२० आइएचएफ ट्रफीमा सहभागी नेपाली टोलीका खेलाडीलाई समेटेर तयार पारिएको युवा टोलीले भारतीय यू–२५ टोलीसँग प्रतिस्पर्धा गरेको नेपाली राष्ट्रिय युवा टोलीका प्रशिक्षक विशाल बस्नेतले जानकारी दिए । विभिन्न देशमा मैत्रीपूर्ण खेलमार्फत अनुभव बटुल्ने उद्देश्यसहित भारतीय यू–२५ टोली नेपाल आएको हो । २५ सदस्यीय भारतीय टोलीमा भारतीय महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक सचिन चौधरी तथा जुनियर राष्ट्रिय टोलीका प्रशिक्षक अरविन्द कुमार यादवसहितका पदाधिकारी तथा खेलाडी सहभागी छन् । त्रिदिवसीय सिरिजअन्तर्गत नेपाल र भारतबीच थप मैत्रीपूर्ण खेलहरू हुनेछन् । खेलसँगै भारतीय टोलीले पोखराका विभिन्न पर्यटकीय तथा रमणीय गन्तव्यहरूको अवलोकनसमेत गर्ने कार्यक्रम रहेको छ ।





