१४ औँ वार्षिकोत्सवमा पोखरा ट्रेड मलको ‘ग्रान्ड फेस्ट २०८३’ यही साउन २२ देखि हुने

-


     पोखरा क्लिक     
     श्रावण २१ गते २०८३ मा प्रकाशित


पोखरा, साउन २१,

पोखरा महानगरपालिका–९, चिप्लेढुङ्गास्थित प्रमुख व्यापारिक केन्द्र पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रालि ले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा तीन दिने ‘ग्रान्ड फेस्ट २०८३’ आयोजना गर्ने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत कम्पनीले साउन २२ देखि २४ गतेसम्म विशेष छुट, मनोरञ्जन, सांगीतिक कार्यक्रम तथा सामाजिक उत्तरदायित्वका गतिविधिसहित फेस्टिभल आयोजना गर्न लागेको जनाएको हो।

फेस्टिभल अवधिभर मलभित्र रहेका विभिन्न प्रतिष्ठित ब्रान्ड तथा व्यवसायीहरूले ग्राहकका लागि विशेष छुट र आकर्षक सेल अफर उपलब्ध गराउनेछन्। साथै, चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति, विविध मनोरञ्जनात्मक कार्यक्रम तथा स्थानीयदेखि अन्तर्राष्ट्रिय स्वादका परिकारसहितको आकर्षक फुड कोर्ट पनि सञ्चालन गरिनेछ। मलका अध्यक्ष दीपककुमार मुल्मीले फेस्टिभलले ग्राहकलाई किनमेलसँगै मनोरञ्जनको अनुभव दिलाउने विश्वास व्यक्त गर्दै यसले स्थानीय व्यापार प्रवर्द्धन, बजारलाई चलायमान बनाउन तथा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने बताउनुभयो।

मलले सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण तथा उत्कृष्ट व्यवसायी सम्मान कार्यक्रम सञ्चालन गर्ने प्रवन्ध निर्देशक सौगात थापाले बताउनु भयो । भूकम्प प्रतिरोधी प्रविधि र आधुनिक सुरक्षा प्रणालीसहित २०७२ साल असोज २६ गतेदेखि सञ्चालनमा आएको पोखरा ट्रेड मलमा हाल ५०० भन्दा बढी व्यावसायिक सटर सञ्चालनमा छन्। यहाँ लत्ताकपडा, कस्मेटिक्स, इलेक्ट्रोनिक्सलगायतका पसलका साथै मल्टिप्लेक्स सिनेमा, रेस्टुरेन्ट, फुड कोर्ट, जिम, सैलुन र ब्युटी पार्लरजस्ता सेवा उपलब्ध छन्। अध्यक्ष मुल्मीले फेस्टिभलले ग्राहक, व्यवसायी र मनोरञ्जन क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण ग्राहक, व्यवसायी तथा शुभेच्छुकलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ।