गण्डकी प्रादेशिक क्रिकेट संघद्धारा राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान

-


     पोखरा क्लिक     
     भाद्र ३१ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ३१ भदौ,

गण्डकी प्रादेशिक क्रिकेट संघले राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ । संघले दोश्रो साधारण सभाको अवसरमा सोमबार पोखरामा राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षकहरुलाई नगद सहित सम्मान गरेको हो ।

नेपाल–ए टिमका खेलाडी तथा गण्डकीका कप्तान विपीन खत्री, यू–१९ को एसिया कप खेलेर फर्किनु भएको दीपक डुम्रे, सुवास भण्डारी र अर्जुन कुमाललाई जनहि १०÷१० हजार सहित सम्मान पत्रले सम्मान गरिएको संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो । सम्मानित खत्री, भण्डारी र कुमाल कास्कीका हुनु हुन्छ भने डुम्रे नवलपुरका हुनुहुन्छ । त्यस्तै संघले महिला एसिया कप त्रिकेटमा नेपाली टिमको सहायक प्रशिक्षका रुपमा रहनु भएको गण्डकी प्रदेशका प्रमुख प्रशिक्षक रिजन प्रजुलाई सम्मान गरेको छ । त्यस्तै वागमती अन्तर प्रादेशिक क्रिकेट प्रतियोगितामा सहभागी भएर फर्किएको गण्डकी प्रदेश टिमका १४ जना खेलाडी तथा प्रशिक्षक रिजन प्रजु र ब्यबस्थापकलाई जनहि ५÷५ हजार तथा सो प्रतियोगिताका लागि छनौट भई बन्द प्रशिक्षणमा रहनु भएको १० जनालाई जनहि २÷२ हजार रुपैयाँले सम्मान गरिएको संघका गण्डकी उपाध्यक्ष प्रकाश पौडेलले जनाउनु भयो ।

यसैगरी संघले मैयादेवी क्रिकेट प्रतियोगिताको उपबिजेता बनेर आएका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुलाई पनि ५÷५ हजार सहित सम्मान पत्रले सम्मानित गरेको हो । साधारण सभाको अवसरमा संघले प्रशिक्षक कोर्षको लेभल टु सक्नु भएको रिजन प्रजु र अम्पायर कोर्ष सकेर पहिलो महिला अम्पायर बन्न सफल सोनिका थापालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको छ ।

सो अवसरमा संघले गण्डकीका जिल्लालाई स्पोर्टस् किट हस्तान्तरण गरेको छ । क्रिकेट खेलाडीलाई प्रतियोगिताको तयारी गर्न सहज होस् भनेर संघले स्पोर्टस् किट वितरण गरेको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलकुदबाटै आयआर्जन गर्न सकिने भएकोले यसमा भविष्य देख्न युवा बर्गलाई आग्रह गर्नु भयो । क्रिकेटको विकास र बिस्तारका लागि सरकारले सहयोग गर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा राखेप बोर्ड सदस्य राजेश गुरुङले पारा आलम्पिकमा पदक विजेता खेलाडीलाई पोखरामा आयोजना गरिएको सम्मान कार्यक्रम सिमित ढंगले मात्र गरिएको आरोप लगाउनु भयो । नेपाल क्रिकेट संघ (क्यान)का सदस्य सुदीप शर्माले नेपाली क्रिकेटले लिएको उचाई अनुसार क्रिकेट मैदान द्रुत गतिमा निर्माण गर्नुपर्ने बताउनु भयो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेलकुदको प्रशासक शासक जस्तो देखिएको भन्दै यसले खेलकुदको विकासमा बाधा उत्पन्न हुँदै आएको बताउनु भयो । आफुहरुले भने यसलाई सुधार्न लागेको उहाँको भनाई थियो ।

बार्षिक रुपमा संस्था नविकरण, साधारण सभा तथा प्रतिवेदन समेत बुझाउन नसक्ने खेल संघहरुलाई सम्बन्धित खेल संघ संस्थाको लेटर प्याड नै प्रयोग नगर्न उहाँले चेतावनी दिनु भयो । गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा रंगशालामा यस बर्ष पनि प्यारापिट निर्माणको लागि प्रदेशबाट ४० लाख विनियोजन भएकोले त्यसको काम हुने बताउनु भयो । संघ सरकारबाट क्रिकेट मैदान मर्मत संहारको लागि एक करोड विनियोजन भएको छ ।