प्रदेशका पूर्वअर्थमन्त्री बरालद्धारा घाचोकमा सिर्जना साहित्य सदनको सभाहल उद्घाटन

-


     पोखरा क्लिक     
     चैत्र ३० गते २०८० मा प्रकाशित


कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा रहेको सिर्जना साहित्य सदनको हालै निर्माण कार्य सम्पनन भएको सभाहलको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी सभाहल उद्घाटन सहित संस्थाको २६ औँ साधारणसभा तथा १३ औं अधिवेशन समेत सम्पन्न भएको हो ।

उक्त सभाहल सहित कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री एवं नेकप (माओवादी केन्द्र) कास्कीका इन्चार्ज रामजी प्रसाद बराल(जीवन)ले आफूले सुरु गरेका विकासका कामहरुलाई पूर्णता दिनका लागि जहिले पनि हाजिर हुने वचन दिनु भयो ।

उक्त सभाहल प्रदेश सरकारको १० लाख बजेटबाट निर्माण गरिएको थियो । त्यसैगरी भवनको पर्खाल निर्माण लगायतका लागि गाउँपालिकाले रु तीन लाख सहयोग गरेको थियो ।

पूर्वमन्त्री बरालले माछापुच्छ्रेका जनताको सुःख दुःखमा आफू सँधै साथ र सहयोग गर्ने जनाउनु भयो । उहाँले माछापुच्छ्रे गाउँपालिकामा सडक, मोटरेवल पुल, पुल, सिँचाई, कृषि तथा पर्यटनका क्षेत्रमा आफ्नो कार्यकालमा नमूना योग्य काम भएको दाबी गर्नु भयो । अहिले आफु निर्वाचित जनप्रतिनिधि नभएपनि घाचोक र समग्र माछापुच्छ्रेको विकासमा जहिले पनि सहयोग गर्न तयार रहेको बताउनु भयो ।
माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले सिर्जना साहित्य सदनको पूर्वाधार निर्माण लगायतका अन्य साहित्यिक कार्यक्रममा पालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । गाउँको साहित्यको क्षेत्रमा सदनले विभिन्न कार्यक्रम गर्दै आएको उहाँको भनाई थियो ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले सिर्जनाको विकासका लागि आफ्नो पूर्ण साथ र सहयोग रहने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष हरिश्चन्द्र लम्साल, संस्थाका पूर्वअध्यक्षहरु महेश्वर पोखरेल, टेकनाथ पीडित, सल्लाहाकार सूर्यप्रसाद लम्साल, रविलाल पोखरेल लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा सिर्जना साहित्य सदनको विकासमा योगदान गर्नुहुने पूर्वमन्त्री रामजी प्रसाद बराल, बेदनिधि दवाडी, भानुभक्त पोखरेल र माछापुच्छ्रे वडा नं ३ को वडा कार्यालयलाई सम्मान गरिएको सचिव पदम नेपालले बताउनु भयो । संस्थाका अध्यक्ष शिवप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उपाध्यक्ष एकदत्त लम्सालले बताउनु भयो । भएको थियो ।