कांग्रेस कास्की क्षेत्र नम्बर १ को सभापतिमा सरोज केसी निर्वाचित

-


     पोखरा क्लिक     
     असाेज १६ गते २०८३ मा प्रकाशित


पोखरा, १६ असोज,

नेपाली कांग्रेसका युवा नेता सरोज केसी कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा केसीले आफ्ना निकटतम प्रतिस्पर्धी ओमप्रकाश गुरुङलाई ६१ मतान्तरले पराजित गर्दै क्षेत्रीय सभापतिको जिम्मेवारी हात पार्नुभएको हो।

कुल ९ सय ७० मत खसेको निर्वाचनमा केसीले ४ सय ७२ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिस्पर्धी गुरुङले ४ सय ११ मत प्राप्त गर्दा सभापतिका अर्की उम्मेदवार अप्सरा श्रेष्ठले ७० मत प्राप्त गर्नुभएको छ। दुई दिनअघि भएको मतदानको मतगणना बिहीबार राति करिब १ः३० बजे सम्पन्न भएको थियो। नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय केसी यसअघि प्रदेशसभा सभापतिको जिम्मेवारीमा रहनुभएको थियो। क्षेत्रीय सभापतिमा निर्वाचित भएसँगै उहाँले अब कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय संगठनको नेतृत्व सम्हाल्नुहुनेछ।

यसैबीच, कास्की क्षेत्र नम्बर १ को ‘ख’ प्रदेशसभा क्षेत्रीय सभापतिमा अर्जुन गुरुङ निर्वाचित हुनुभएको छ। त्यस्तै, उपसभापतिमा लोकबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धीलाई एक मतको अन्तरले पराजित गर्नुभएको हो। सचिव पदमा किरण अधिकारी २ सय ९६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । यसअघि कास्की क्षेत्र नम्बर १ को ‘क’ प्रदेशसभा क्षेत्रीय सभापतिमा नरेन्द्र थापा निर्विरोध निर्वाचित भइसक्नुभएको थियो।