एगा अध्यक्षमा ढकाल निर्वाचित

-


     पोखरा क्लिक     
     असाेज ९ गते २०८३ मा प्रकाशित


पोखरा, ९ असोज,

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको अध्यक्षमा गीता ढकाल पौडेल निर्वाचित हुनुभएको छ । एगाको १२औँ अधिवेशन तथा २३औँ वार्षिक साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । एगाको इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा माया सुवेदी, सचिवमा सुरेन्द्र पौडेल, सहसचिवमा रामकृष्ण तिमिल्सिना र कोषाध्यक्षमा सुशील ढकाल चयन हुनुभएको छ । सदस्यमा नारायणप्रसाद पाण्डे, प्रमिला थापा, उमनाथ भट्टराई, रामहरि भट्ट र जगत नारायण श्रेष्ठ चयन हुनुभएको छ । संस्थाले पत्रकार माधव पनेरुलाई मिडिया सल्लाहकारमा चयन गरेको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले नेपाली कला, संस्कृति र पहिचानलाई धागोका माध्यमबाट विश्वमा चिनाउने एगासँग सहकार्य गर्न बोर्ड तयार रहेको बताउनुभयो । नेपालका हिमाल र सगरमाथासँगै यहाँका मौलिक धरोहरलाई कलात्मक रूपमा इम्ब्रोइडरीमार्फत विश्वसामु चिनाउने एगाको काम महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । राज्यले गर्न नसकेको पर्यटन प्रवर्द्धनको कामसमेत एगाले उत्पादनमार्फत गरिरहेको बताउँदै पोखरेलले आगामी दिनमा संस्थालाई पहिचान, जिम्मेवारी र सहकार्यका लागि नेपाल पर्यटन बोर्ड तयार रहेको जनाउनुभयो । ‘नेपालको आत्मा इम्ब्रोइडरीका माध्यमबाट विश्वमा चिनाउने एगाको कामलाई पर्यटन बोर्डले पहिचान गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘नेपाली कला, संस्कृति र धरोहरलाई धागोमार्फत विश्वका नागरिकसम्म पुर्‍याउनु सामान्य काम होइन ।’

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका वरिष्ठ उपाध्यक्ष सूर्य भुजेलले पोखरामा अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै आर्थिक गतिविधि विस्तार गर्न निजी क्षेत्र थप सक्रिय हुनुपर्ने बताउनुभयो । उद्योग वाणिज्य क्षेत्र र पर्यटन क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आफूले गरेको आन्दोलन स्मरण गर्दै भुजेलले विमानस्थल निर्माणका लागि आफू छातीमा गोली खानसमेत तयार भएर अनशन बसेको बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले कुनै पनि क्षेत्र आफैँमा पूर्ण नहुने भन्दै समस्या समाधानका लागि दोषारोपणभन्दा सहकार्य आवश्यक रहेको बताउनुभयो । पोखरा पर्यटन परिषद् पर्यटनसँग सम्बन्धित सबै पक्षसँग सहकार्य गर्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घकी अध्यक्ष शोभा गौतमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल सञ्चालनको विषयलाई विगतको आन्दोलनको उपलब्धि र गौरवका रूपमा ग्रहण गर्दै अब निजी क्षेत्रले पर्यटन तथा आर्थिक गतिविधि विस्तारमा ध्यान दिनुपर्ने बताउनुभयो ।एगा पोखराका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी इन्द्र भण्डारीले पर्यटन क्षेत्रमा ‘कोही अग्लो, कोही होचो’ भन्ने मानसिकता त्यागेर सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पर्यटन क्षेत्रको विकासका लागि सहअस्तित्व र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले एगाले विगतदेखि गर्दै आएको प्रयासलाई निरन्तरता दिँदै सबै पक्षसँग सहकार्य गर्नुपर्ने बताउनुभयो । संस्थाका सल्लाहकार पुष्कलबहादुर थापाले नेपालमै कच्चा पदार्थ उत्पादन गर्ने एगाको सोचलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराको पर्यटन विकासमा सबै संघसंस्थाको भूमिका महत्वपूर्ण र समान रहेको भन्दै सोहीअनुसार सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो । एगाका अध्यक्ष गोकर्ण लम्सालले आफ्नो कार्यकालमा सदस्यहरूले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुका साथै खेर गइरहेका वस्तुको पुनःप्रयोग गर्ने नीति अघि बढाएको बताउनुभयो । सोही उद्देश्यअनुसार उद्योग सञ्चालनको सुरुवात गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपाली पर्यटनमा मौलिक उत्पादनको महत्व रहेको उल्लेख गर्दै लम्सालले अल्लो, हेम्पलगायत स्थानीय कच्चा पदार्थबाट कपडा तथा अन्य सामग्री उत्पादन गर्न राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । एगाका करिब ६० जना सदस्यको सहभागितामा ‘एगा नाइस नेपाल गार्मेन्ट उद्योग’ सञ्चालनमा रहेको छ । उक्त उद्योगले पर्यटनलाई लक्षित गरी विभिन्न उत्पादन गर्दै आएको संस्थाले जनाएको छ । कार्यक्रममा पर्यटनविज्ञ दीपेन्द्र पहारीले एगाले पर्यटन प्रवर्द्धन, नेपाली मौलिक उत्पादन र स्थानीय पहिचानलाई विश्व बजारसम्म पुर्‍याउन खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।

साधारणसभामा संस्थाका सचिव माया सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बन्दसत्रमा संस्थाको आगामी योजना तथा आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलका क्रममा संस्थाका पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेल, कृष्णकुमार श्रेष्ठ, उपाध्यक्ष गीता ढकाल, सहसचिव सुरेन्द्र पौडेल, सद्भाव सदस्य कमलबहादुर सापकोटा, सद्भाव सदस्य ईश्वरकुमार श्रेष्ठ, पूर्वअध्यक्ष विश्व पोखरेल र पूर्वअध्यक्ष जीवनाथ गौतमलगायतले धारणा राख्नुभएको थियो । सो अवसरमा पत्रकार माधव पनेरु र पर्यटनविज्ञ दीपेन्द्र पहारीलाई सम्मान गरिएको थियो । संस्थाका विभिन्न गतिविधिमा योगदान पुर्‍याउने सदस्य, सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीलाई समेत सम्मान गरिएको थियो । अध्यक्ष गोकर्ण लम्सालको कार्यकालको उच्च मूल्याङ्कन गर्दै सदस्यहरूले उहाँलाई विशेष सम्मान गरेका थिए । कार्यक्रममा एगाको संस्थागत विकास तथा आन्तरिक जीवनमा लम्सालले पुर्‍याएको योगदानको चर्चा गरिएको थियो ।