
पोखरा, असोज ९,
सामाजिक उत्तरदायित्व निभाउने उद्देश्यले लेकसाइडस्थित होटल ल्याण्डमार्कले शुक्रबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदानमा होटलका कर्मचारी सहित होटलमा बसिरहेका विदेशी पाहुनाले पनि रक्तदान गरेको होटलका सिओओ बोधराज लम्सालले बताए ।

होटलका वरिष्ठ व्यापार विकास अधिकृत पुष्पराज चालिसेका अनुसार होटलका कर्मचारी, भारतीय र तेश्रो मुलुकका विदेशीले समेत रक्तदान गर्दा ५४ यूनिट रगत संकलन भएको थियो । ‘होटलले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्छ । योपटक पनि त्यसैको निरन्तरता हो,’ उनले भने, ‘विदेशी पाहुना पनि प्रभावित भएर रक्तदान गरेका थिए ।’ रसुवा भोटेकोशीको बाढीले धेरै घाईते भएको र उनीहरुका लागि रगत आवश्यक पर्न सक्ने अवस्थालाई मध्यनजर गरेर यतिबेला रक्तदान कार्यक्रम गरेको उनले बताए । ‘बाढिको चपेटामा परेका घाइतेका लागि पनि रगत चाहिने भन्ने थाहा पाएपछि होटलमा बसेका पाहुना पनि जिम्मेवार ठानेर रक्तदान गर्न आएका थिए,’ उनले भने, ‘रक्तदान गर्न पाउँदा पाहुना खुसी पनि थिए ।’कार्यक्रमका संयोजक कृष्णप्रसाद पाण्डेले रक्तदानले कोही कसैको जीवन बचाउने भएकोले मानवीय कार्यका लागि अग्रसर बनेको बताए । उनले आगामि वर्ष पनि यस्तै कार्यक्रम गरिरहने बताए । रक्तसंचार केन्द्रसँगको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको जनरल म्यानेजर रमेश पन्तले बताउनु भयो ।




