
दीननाथ बराल,
पोखरा ९, असोज,
कास्कीमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले रातिको समयमा सवारी साधन सञ्चालन नगर्न, पदयात्रामा ननिस्कन तथा पदयात्रामा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै नदी, खोला, नाला तथा तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ८ गते बिहीबारदेखि ११ गते आइतबारसम्म कास्की सहित आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले यस्तो आग्रह गरेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि विभिन्न पूर्वतयारी तथा सावधानीका निर्णय गरेको छ । बैठकमा पालिका प्रमुख तथा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रमुख, विषयगत कार्यालय तथा सरोकारवाला निकाय एवं विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
कास्कीका ग्रामीण क्षेत्रमा चल्ने सवारी साधन दिउँसो ४ बजेपछि सञ्चालन नगर्न र राष्ट्रिय राजमार्गमा चल्ने सवारी साधनसमेत रातिको समयमा सञ्चालन नगर्न आग्रह गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनु भयो । अत्यावश्यकबाहेक यात्रा नगर्न तथा यात्रा गर्नैपर्ने अवस्थामा सडक र राजमार्गको अवस्था तथा मौसमबारे पूर्वजानकारी लिएर मात्र हिँड्न प्रशासनले अनुरोध गरेको छ । भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्ने, आकस्मिक बाढी र भेल आउने, नदी तथा खोला किनारमा कटान तथा पहिरो जाने र सडक भासिन सक्ने जोखिम रहेकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन भनिएको छ । नदी तथा खोला किनारमा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने, ढुंगा, बालुवा तथा गिटी निकाल्ने वा बाढीले बगाएर ल्याएका सामग्री उठाउन नजान पनि प्रशासनले आग्रह गरेको छ । अभिभावकलाई आफ्ना बालबालिकालाई यस्ता जोखिमयुक्त क्षेत्रमा जान नदिन अनुरोध गरिएको छ ।




