
पोखरा,
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेका बेला पोखराका व्यवसायी माइकल कर्माचार्यले आदिवासी जनजातितर्फबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी प्रस्तुत गर्ने घोषणा गरेका छन्। कर्माचार्य पोखराको व्यवसायिक क्षेत्रमा परिचित कर्माचार्य ग्रुपसँग आबद्ध व्यवसायी तथा उद्योगपति हुन्।
व्यवसायिक क्षेत्रको अनुभवलाई पार्टीको नीति निर्माणसँग जोड्दै उनले नेपाली कांग्रेसभित्र आत्मनिर्भर अर्थतन्त्र, स्वदेशमै रोजगारी तथा स्वरोजगार सिर्जना र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिनुपर्ने धारणा अघि सारेका छन्। उनका अनुसार नेपालमा उत्पादन र उद्यमशीलताको वातावरण बलियो बनाउन राज्यले स्पष्ट तथा दीर्घकालीन आर्थिक नीति अवलम्बन गर्न आवश्यक छ। स्वदेशी उद्योग तथा व्यवसायलाई प्रोत्साहन गर्दै नेपाली उत्पादन र वस्तु तथा सेवाको प्रयोगलाई प्राथमिकता दिने नीति निर्माणमा पार्टीले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। कर्माचार्यले राजनीतिक नेतृत्व र निजी क्षेत्रबीच सहकार्य बढाउँदै उद्योग, व्यापार, लगानी र उद्यमशीलतामैत्री सरकार तथा नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। युवालाई रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता कम गर्न स्वदेशमै व्यवसाय तथा रोजगारीका अवसर सिर्जना गर्ने वातावरण आवश्यक रहेको उनको धारणा छ। पार्टीभित्र पनि समयअनुकूल परिवर्तन आवश्यक रहेको बताउँदै कर्माचार्यले परम्परागत राजनीतिक अभ्याससँगै व्यवसायिक सोच, उद्यमशीलता र उत्पादनमुखी एजेन्डालाई पार्टीको नीति तथा कार्यक्रमसँग जोड्ने उद्देश्यले आफूले उम्मेदवारी दिन लागेको पोखराक्लिकलाई बताएका छन्।
“आत्मनिर्भर नेपाल निर्माणका लागि स्वदेशमै रोजगारी र स्वरोजगार सिर्जना गर्ने वातावरण आवश्यक छ। उद्योग तथा व्यवसाय सञ्चालनका लागि स्पष्ट नीति र व्यवसायमैत्री सरकार हुनुपर्छ। नेपाली उत्पादन, वस्तु तथा सेवाको प्रयोग र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यताका साथ मैले उम्मेदवारी प्रस्तुत गरेको हुँ,” कर्माचार्यले भने। उनले आफ्नो उम्मेदवारी आदिवासी जनजाति समुदायको प्रतिनिधित्वसँगै व्यवसायिक क्षेत्रका मुद्दालाई पार्टीको नीति निर्माणको तहसम्म पुर्याउने प्रयास भएको बताएका छन्। पार्टीमा युवा, व्यवसायी तथा उद्यमशील क्षेत्रको सहभागिता बढाउँदै कांग्रेसलाई समयअनुकूल र उत्पादनमुखी बनाउन आफूले भूमिका खेल्ने उनको भनाइ छ।
कर्माचार्यले महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित हुनका लागि पार्टीका नेता, कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुकहरूसँग विश्वास, साथ र शुभेच्छाको अपेक्षा गरेका छन्। “नेपाली कांग्रेसको नीति निर्माणमा व्यवसायिक क्षेत्रको आवाजलाई अझ प्रभावकारी रूपमा स्थापित गर्ने उद्देश्यले आदिवासी जनजातितर्फबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी प्रस्तुत गर्दैछु। तपाईंहरूको विश्वास, साथ र शुभेच्छाको अपेक्षा गर्दछु।” उनले भने। नेपाली कांग्रेसले सार्वजनिक गरेको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यक्रम रहेको छ भने केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय गरिएको छ।




