
टोकियो,
जापानको टोकियोमा सुरु भएको प्रतिष्ठित ‘जापान टुरिजम एक्सपो २०२६’ मा नेपालले प्रभावकारी उपस्थिति जनाएको छ। नेपाल पर्यटन बोर्डको अगुवाइमा निजी क्षेत्रका नौवटा ट्राभल, ट्रेकिङ तथा होटल व्यवसायी सहभागी हुँदै जापानी बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई तीव्र बनाएका छन्।

‘भ्रमणको बदलिँदो स्वरूप’ भन्ने मूल नाराका साथ टोकियो बिग साइट अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बिहीबारदेखि सुरु भएको एक्सपो चार दिनसम्म चल्नेछ। जापान ट्राभल एन्ड टुरिजम एसोसिएसन, जापान एसोसिएसन अफ ट्राभल एजेन्ट्स र जापान नेसनल टुरिजम अर्गनाइजेसन ले आयोजना गरेको यो मेलाको १२औँ संस्करण हो। मेलामा नेपालसहित विश्वका ७४ देश तथा क्षेत्र र जापानका ४६ प्रिफेक्चरबाट गरी १ हजार ४ सय २० कम्पनी तथा संस्थाका १ हजार ५ सय ५३ वटा स्टल राखिएका छन्। आयोजकका अनुसार चार दिनमा करिब १ लाख ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ। मेलामा विदेशी मुलुकका ५ सय ९७ स्टल रहेका छन्। उद्घाटन समारोहमा जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गर्नुभएको थियो।
जापानी बजारमा नेपालको विशेष आकर्षण
नेपालको हिमाली सौन्दर्य, बुद्ध जन्मस्थल लुम्बिनी, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा र जैविक विविधता जापानी पर्यटकका प्रमुख आकर्षणका रूपमा रहँदै आएका छन्। यही आकर्षणलाई थप प्रभावकारी रूपमा प्रस्तुत गर्दै नेपालले एक्सपोमार्फत जापानी पर्यटक तथा पर्यटन व्यवसायीलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने प्रयास गरिरहेको छ। एक्सपोको पहिलो दुई दिन अर्थात् सेप्टेम्बर २४ र २५ मा व्यावसायिक सहकार्यका लागि ६ हजार ४ सय ५४ वटा बीटुबीआयोजना भइरहेका छन्। ती बैठकमा ८ सय ५५ जना क्रेता र १ हजार १९ जना विक्रेता सहभागी छन्। त्यसपछि सेप्टेम्बर २६ र २७ मा सर्वसाधारणका लागि बीटुसी कार्यक्रम सञ्चालन हुनेछ। नेपालका सहभागी व्यवसायीहरूले जापानी ट्राभल एजेन्सीहरूसँग नेपाल भ्रमणका विभिन्न प्याकेज, पर्यटकीय सेवा तथा सुविधाका विषयमा प्रत्यक्ष छलफल गरिरहेका छन्।
भोटेकोशी बाढीपछि पनि नेपाल सुरक्षित रहेको सन्देश
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रदीप गैरेका अनुसार एक्सपो सुरु भएदेखि नै नेपाली पर्यटन व्यवसायीहरूले जापानी ट्राभल एजेन्सीहरूसँग निरन्तर बीटुबी बैठक गरिरहेका छन्। उनका अनुसार पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीपछि नेपालको पर्यटकीय अवस्था, प्रमुख पर्यटकीय मार्गको सुरक्षा र पर्यटकका लागि गरिएको पूर्वतयारीबारे विदेशी व्यवसायी तथा सञ्चारमाध्यमलाई आवश्यक जानकारी दिइरहेको छ। नेपालको समग्र पर्यटन गन्तव्य सुरक्षित र पर्यटक स्वागतका लागि तयार रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन पनि एक्सपो महत्वपूर्ण माध्यम बनेको गैरेले बताउनुभयो।
बोर्ड र निजी क्षेत्रको संयुक्त प्रयास
एक्सपोमा नेपाल पर्यटन बोर्डसँगै गोचाली टुर एन्ड ट्राभल्स, सुमेघ टुर्स एन्ड ट्राभल्स, हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्स्पेडिसन, लाङटाङ री ट्रेकिङ एन्ड एक्स्पेडिसन, घले ट्रेक्स एन्ड एक्स्पेडिसन, बुद्ध माया गार्डेन्स, रुपाकोट रिसोर्ट, छायाँदेवी कम्प्लेक्स ९अलोफ्ट काठमाडौँ ठमेल० र गोरखा इन्टरनेसनल ट्राभल्स सहभागी छन्। नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत युवराज गुरुङले नेपाल र जापानबीचको लामो समयदेखिको सम्बन्धलाई पर्यटनमार्फत अझ मजबुत बनाउन यस्ता अन्तर्राष्ट्रिय मञ्च महत्वपूर्ण हुने बताउनुभयो।
उहाँका अनुसार विपद्का घटनापछि अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको वास्तविक अवस्था स्पष्ट पार्न र नेपाल पर्यटकका लागि सुरक्षित गन्तव्यका रूपमा रहेको सन्देश दिन यस्ता कार्यक्रमले सहयोग पुर्याउँछन्। बोर्ड र निजी क्षेत्रको संयुक्त सहभागिताले जापानी बजारमा नेपालको पर्यटन बजारीकरणलाई थप प्रभावकारी बनाउने र आगामी दिनमा जापानबाट नेपाल आउने पर्यटकको संख्या बढाउन सहयोग पुग्ने उहाँको विश्वास छ।
पर्यटकलाई नेपाल चिनाउँदै नेपाली स्टल
एक्सपो अवधिभर नेपालको स्टलमा आउने जापानी तथा अन्य विदेशी आगन्तुकलाई नेपालका प्रमुख पर्यटकीय गन्तव्य, संस्कृति, प्रकृति, साहसिक पर्यटन तथा भ्रमणसम्बन्धी विभिन्न जानकारी उपलब्ध गराइनेछ। श्रव्य–दृश्य सामग्री, ब्रोसर तथा प्रत्यक्ष संवादमार्फत नेपालका पर्यटकीय सम्भावना प्रस्तुत गरिँदैछ।
नेपालका लागि जापान लामो समयदेखि महत्वपूर्ण पर्यटन बजार रहँदै आएको अवस्थामा जापान टुरिजम एक्सपो २०२६ मा बोर्ड र निजी क्षेत्रको संयुक्त उपस्थितिले नेपाली पर्यटनलाई जापानी बजारमा थप प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर दिएको छ। जापानी पर्यटन व्यवसायीसँगको व्यावसायिक भेटघाट र सर्वसाधारणसँगको प्रत्यक्ष सम्पर्कबाट नेपाल भ्रमणसम्बन्धी चासो तथा व्यापारिक सम्भावना विस्तार हुने अपेक्षा गरिएको छ।




