
पोखरा, ८, असोज
सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ। महानगरपालिकाले आज ८ गते (विहिबार) र भोलि ९ गते (शुक्रबार) विद्यालय बन्द रहने जनाएको हो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै प्रतिकूल मौसमका कारण पूर्वसावधानीस्वरूप विद्यालयमा स्थानीय बिदा दिने निर्णय गरिएको जानकारी दिएका छन्।

महानगरपालिकाका अनुसार यी दुई दिनको पठनपाठनबाट हुने शैक्षिक क्षतिलाई पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने जनाएको छ । मौसम प्रतिकूल बन्दै गएको र विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले विद्यार्थी, अभिभावक, शिक्षक तथा महानगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन महानगरपालिकाले आग्रह समेत गरेको छ। महानगरपालिकाले ‘सुरक्षा नै पहिलो प्राथमिकता हो, सतर्क रहौँ, सुरक्षित रहौँ’ भन्दै सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। यसअघि शिक्षा मन्त्रालयले पनि प्रतिकूल मौसमको अवस्थालाई ध्यानमा राख्दै विद्यालयमा बिदा दिन आग्रह गरेको थियो। मन्त्रालयको आग्रहसमेतलाई ध्यानमा राख्दै पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री शाहद्वारा पनि उच्च सतर्कता अपनाउन आग्रह
यसैबीच, प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पनि भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै देशभरका नागरिकलाई सुरक्षित, सचेत र सावधान रहन आग्रह गरेका छन्। मौसम विज्ञान विभागले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गरेको छ।
उक्त मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै प्रधानमन्त्री शाहले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित सरकारी निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले नागरिकलाई मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने आधिकारिक सूचना नियमित रूपमा हेर्न र आवश्यक परेको अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरेका छन्। लगातारको वर्षाका कारण बाढी, पहिरो, डुबान तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकायले पूर्वतयारी तीव्र बनाएका छन्। नागरिकलाई पनि अनावश्यक यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नजान तथा स्थानीय प्रशासनबाट जारी हुने सुरक्षा निर्देशन पालना गर्न आग्रह गरिएको छ।







