
पोखरा,
जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदको प्रत्यक्ष अवलोकन तथा खेलकुद पत्रकारिताका लागि पोखराका दुई पत्रकार बुधबार जापान प्रस्थान गर्नुभएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर र अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित एसियाली खेलकुदको समाचार संकलन तथा प्रतियोगिता अवलोकनका लागि जापान जानुभएको हो।

एसियाली खेलकुदजस्तो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय खेलकुद महोत्सवमा पोखराबाट पत्रकारको सहभागिताले नेपाली खेलकुद पत्रकारितामा समेत थप अनुभव र अन्तर्राष्ट्रिय सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ। आस्था खेलकुद पत्रकारितासँगै मञ्चको नेतृत्व गर्दै आउनुभएको छ भने रञ्जित लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय हुनुहुन्छ। जापान प्रस्थान गर्न लागेसँगै नेपाली खेलाडी तथा अफिसियलको टोली पनि एसियाली खेलकुदमा सहभागिताका लागि त्यसतर्फ जाने तयारीमा छ। यसपटक नेपालले २१ खेलमा १३५ खेलाडी सहभागी गराउँदैछ। नेपाली टोलीमा ५७ महिला र ७८ पुरुष खेलाडी रहनेछन्। प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई साथ दिन २९ प्रशिक्षक, १७ व्यवस्थापक र दुई खेल प्राविधिक सहित १८४ जना खेलकर्मी रहनेछन्। खेलाडी र खेलकर्मीको व्यवस्थापन तथा आवश्यक सहयोगका लागि छ सदस्यीय मेडिकल टिमसमेत जापान जानेछ।
त्यसैगरी नेपाली टोलीसँग चार पत्रकार, सेभ द मिसन, डेपुटी सेभ द मिसन, विशिष्ट अतिथि तथा अन्य अफिसियलसमेत सहभागी हुनेछन्। सबै समूहलाई समेट्दा एसियाली खेलकुदमा नेपालको कुल प्रतिनिधित्व २११ जनाको हुने जनाइएको छ। आइची–नागोयामा हुने २०औँ एसियाली खेलकुद नेपालका लागि खेलाडीको प्रतिस्पर्धा मात्र नभई अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा आफ्नो उपस्थिति प्रस्तुत गर्ने अवसरसमेत हो। यस्तो ठूलो खेलकुद आयोजनाको प्रत्यक्ष अवलोकनले नेपाली खेल पत्रकारलाई प्रतियोगिताको वातावरण, व्यवस्थापन, खेलाडीको प्रदर्शन र आयोजक पक्षका गतिविधिलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्नेछ।
पोखराबाट जापान प्रस्थान गर्नुभएका मञ्चका अध्यक्ष आस्था र फोटो पत्रकार रञ्जितले एसियाली खेलकुदका गतिविधिलाई नेपाली खेलप्रेमीसमक्ष पुर्याउन प्रत्यक्ष रिपोर्टिङ तथा तस्बिरमार्फत योगदान गर्नुहुनेछ। विशेषगरी रञ्जितको सहभागिताले एसियाली खेलकुदमा नेपाली खेलाडीका प्रदर्शन, प्रतिस्पर्धाको वातावरण तथा पर्दापछाडिका दृश्यलाई फोटो पत्रकारितामार्फत अभिलेखीकरण गर्ने अवसर मिल्नेछ। आस्थाले भने खेल पत्रकारिताको दृष्टिकोणबाट नेपाली टोलीको सहभागिता र प्रतियोगिताका गतिविधिलाई पाठकमाझ पुर्याउने अपेक्षा गरिएको छ। नेपालले एसियाली खेलकुदमा विभिन्न खेलमार्फत सहभागिता जनाउँदै आएको छ। यसपटकको २१ खेलको सहभागिताले नेपाली खेलकुदको अन्तर्राष्ट्रिय यात्रालाई निरन्तरता दिएको छ। खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक, मेडिकल टिम तथा सञ्चारकर्मीसहितको ठूलो प्रतिनिधिमण्डल जापान पुग्दै गर्दा नेपाली खेलकुद क्षेत्रको ध्यान पनि आइची–नागोयातर्फ केन्द्रित भएको छ। २०औँ एसियाली खेलकुदमा पोखराबाट पत्रकारिताको प्रतिनिधित्व गर्दै आस्था र रञ्जितको सहभागिताले पोखरेली खेलकुद पत्रकारिता र नेपाली खेलकुद सञ्चारलाई अन्तर्राष्ट्रिय खेलकुद मञ्चसँग जोड्ने अवसरसमेत सिर्जना गरेको छ।




