
पोखरा, ३० भदौं,
पोखरामा आगामी असोज २४ गते आयोजना हुन लागेको तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगितामा पोखरा लेकसाइडस्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स हस्पिटालिटी पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । प्रतियोगितालाई सफल बनाउन होटल र आयोजक बीच हस्पिटालिटी पार्टनरका रूपमा सहकार्य गर्ने सम्झौता भएको हो ।
होटलका सञ्चालक युवा व्यवसायी सुनिलबहादुर भट्टराई र प्रतियोगिताका संयोजक दीननाथ बराल बीच उक्त सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । करिब सात रोपनी क्षेत्रफलमा फैलिएको म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्समा तीनवटा स्वीट रुमसहित डिलक्स र सुपर डिलक्स गरी ६२ वटा कोठा रहेका छन् । फेवाताल, माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खलासहित मेथलाङ डाँडाको मनमोहक दृश्यावलोकन गर्न सकिने होटलले सञ्चालनमा आएको एक वर्षमै ट्रिपएडभाइजरमा पोखराका उत्कृष्ट पाँच होटलमध्ये स्थान बनाउन सफल भएको जनाइएको छ ।
प्रतियोगितासँग म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्सजस्तो प्रतिष्ठित होटलको सहकार्यले कार्यक्रमको आकर्षण र रौनक थपिएको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताए । खेल पर्यटनको विकाससँगै पोखराको पुम्दी–भुम्दी क्षेत्रलाई थप चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । होटलमा कन्फरेन्स हल, स्पा, साउना, स्टिम, मसाज, ज्याकुजी तथा फिटनेस सेन्टरलगायतका सुविधा उपलब्ध छन्। त्यस्तै, पर्याप्त खुला पार्किङको सुविधा रहेको होटलमा दुई सयभन्दा बढी पाहुना अट्ने क्षमताको रेस्टुरेन्टसमेत सञ्चालनमा रहेको होटल सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए ।
प्राकृतिक हरियाली तथा ग्रिनरी होटलको अर्को विशेषता रहेको भट्टराईले बताए। होटलमा एकपटक आएका पाहुनाहरू पुनःपुनः आउने गरेको उल्लेख गर्दै उनले आतिथ्य, सेवा र वातावरणलाई होटलले विशेष प्राथमिकता दिएको बताए। होटलको रेस्टुरेन्टमा हरेक दिन एकोस्टिक लाइभ म्युजिकसहित कन्टिनेन्टल, नेपाली तथा भारतीय परिकार उपलब्ध हुँदै आएको छ। पर्वतीय दौड प्रतियोगितासँगको सहकार्यले होटल तथा प्रतियोगिता दुवैको प्रचार–प्रसारमा थप सहयोग पुग्ने पोखरा क्लिकका बजार व्यवस्थापक सागर सुनारले बताए । विश्व शान्ति तथा पर्यटन दिवसको सन्दर्भमा आयोजना हुन लागेको प्रतियोगितालाई पोखरा महानगरपालिकाले प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीले समन्वय तथा पोखरा महानगरपालिका–२२ ले सहकार्य गरेको छ । पुम्दी–भुम्दी क्षेत्रको खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा प्रतियोगिता हुन लागेको हो। । प्रतियोगितामा नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा जोडिएको छ भने खुलातर्फको तेस्रो पुरस्कार समेत नेलम्बो नेपालले प्रायोजन गरेको छ । प्रतियोगिताको अफिसियल टेलिभिजनका रूपमा पोखरा टेलिभिजन जोडिएको छ ।
प्रतियोगिता सफल बनाउन परिचय एड्भर्टाइजिङ, पोखरा महानगरपालिका–२२ को वडा युवा परिषद्, स्थानीय क्लब, व्यवसायी तथा विभिन्न संघसंस्थाको सहयोग रहेको आयोजकले जनाएको छ । यसैबीच, सामाजिक उत्तरदायित्वअन्तर्गत म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्सले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ। पोखरा महानगरपालिका–६, खहरे लेकसाइडस्थित होटलका सञ्चालक सुनिलबहादुर भट्टराईले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी दिए । भदौ १० गते रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र देशका विभिन्न जिल्लामा भएका प्राकृतिक विपद्का घटनाबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै होटलले प्रभावित नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले राहत कोषमा सहयोग गरेको भट्टराईले बताए।
खेल पर्यटन, स्थानीय पर्यटन प्रवद्र्धन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा निजी क्षेत्रको सक्रिय सहभागिताले पुम्दी–भुम्दी क्षेत्रको पर्यटन तथा समग्र पोखराको प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । यसैबिच, प्रतियोगितालाई थप व्यवस्थित, प्रभावकारी र सफल बनाउन पोखरा महानगरपालिका–२२ का विभिन्न क्लब, टोल विकास संस्था, स्थानीय संघसंस्था, जनप्रतिनिधि तथा सरोकारवालासँग भदौं ३१ गते बुधबार ११ बजे वडा कार्यालयमा छलफल तथा सुझाव संकलन समेत हुने भएको आयोजकले जनाएको छ ।



