बाल अधिकार संरक्षणमा सृजनशील बालविकास कार्यक्रमको भूमिका प्रशंसनीय

-


     पोखरा क्लिक     
     भाद्र ३० गते २०८३ मा प्रकाशित


पोखरा, भदौ ३०,

पोखरा महानगरपालिका–१५, दुईगेसाँघुस्थित सृजनशील बालविकास कार्यक्रमको पाँचौँ सामाजिक लेखाजोखा तथा परीक्षण र चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा संस्थाले बालबालिकाको अधिकार संरक्षण, शिक्षा, विकास तथा समुदायमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा जोड दिइएको छ।

संस्थाका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको आर्थिक तथा सामाजिक पारदर्शिता, विगतका गतिविधि, उपलब्धि, चुनौती र आगामी कार्यदिशाका विषयमा सरोकारवालाबीच व्यापक छलफल गरिएको थियो। सामाजिक परीक्षणका क्रममा संस्थाले आर्थिक वर्ष २०८२र०८३ मा सञ्चालन गरेका विभिन्न बाल विकास तथा सामाजिक गतिविधिको सार्वजनिक रूपमा समीक्षा गरिएको थियो। भदौ २७ गते शनिबार संस्थाको बालगृह भवनमा आयोजित पाँचौँ सामाजिक परीक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै पोखरा महानगरपालिका–१५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँले बालबालिकाको क्षेत्रमा सृजनशील बालविकास कार्यक्रमले गर्दै आएको काम उदाहरणीय रहेको बताउनुभयो। उहाँले संस्थाले पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै समुदायमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि वडा कार्यालयबाट आवश्यक सहकार्य र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका विशेष अतिथि गण्डकी प्रदेश समन्वय बाल अधिकार अधिकृत तथा राष्ट्रिय बाल परिषद्का बद्रीप्रसाद वाग्लेले बाल अधिकार र संरक्षणका क्षेत्रमा सृजनशील बालविकास कार्यक्रमले स्थानीयस्तरमा निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गर्नुभयो। बालबालिकाको मुहारमा खुसी ल्याउने र उनीहरूको शारीरिक, मानसिक, सामाजिक तथा शैक्षिक विकासका लागि संस्थाले समुदायसँगको सहकार्यमा सञ्चालन गर्दै आएका गतिविधि सराहनीय रहेको उहाँले बताउनुभयो। त्यसैगरी पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाकी बाल अधिकार अधिकृत बेलकुमारी गुरुङले संस्थाको कार्यप्रणाली तथा बाल कल्याणका कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो। बालबालिकाको संरक्षण र उनीहरूको अधिकार सुनिश्चित गर्ने कार्यमा सरकारी निकाय, समुदाय र गैरसरकारी संस्थाबीचको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

सामाजिक परीक्षण कार्यक्रममा विद्यालयका शिक्षक, स्थानीय छिमेकी, सप्लायर, सेवार्थी अभिभावक तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले संस्थाका गतिविधिबारे धारणा राख्दै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन विभिन्न सुझावसमेत दिएका थिए। कार्यक्रमको सहजीकरण निकिता कोइरालाले गर्नुभएको थियो। कार्यक्रमको दोस्रो दिन भदौ २८ गते आइतबार संस्थाको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भयो। साधारण सभामा पनि प्रमुख अतिथि वडा अध्यक्ष तोरणबहादुर बानियाँ तथा विशेष अतिथि ग्रीष्म केशव पराजुलीलगायतले संस्थाले अपनाउँदै आएको पारदर्शी, जिम्मेवार र उत्तरदायी कार्यशैलीको प्रशंसा गर्नुभयो।

साधारण सभामा संस्थाका आजीवन तथा साधारण सदस्य, सेवार्थी अभिभावक र कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाका संस्थापक निर्देशक शंकर पन्थले संस्थाको स्थापनाकालदेखि हालसम्मको यात्रा, सञ्चालन गरिएका कार्यक्रम, उपलब्धि तथा संस्थागत विकासक्रमबारे जानकारी गराउनुभयो। त्यसपछि संस्थाका कोषाध्यक्ष वीरबहादुर नेपालीले आर्थिक वर्ष २०८२र०८३ को आर्थिक प्रतिवेदन र सचिव विनोद नेपालीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनमाथि सदस्य तथा सरोकारवालाबीच छलफल गरी आवश्यक सुझाव लिइएको थियो। साधारण सभाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि प्रस्तावित कार्ययोजना तथा वार्षिक बजेटसमेत पारित गरेको छ।

समापन समारोहमा संस्थाका अध्यक्ष रामप्रसाद शर्माले सृजनशील बालविकास कार्यक्रमलाई स्थापनाकालदेखि वर्तमान अवस्थासम्म ल्याउन सहयोग गर्ने पोखरा महानगरपालिका, वडा कार्यालय, बाल अधिकारकर्मी, सरकारी तथा गैरसरकारी निकाय, सरोकारवाला, अभिभावक, कर्मचारी, सहयोगी संस्था तथा समुदायप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विगतका अनुभव र उपलब्धिबाट सिक्दै आगामी दिनमा बालबालिकाको अधिकार, संरक्षण, शिक्षा, स्वास्थ्य र समग्र विकासलाई प्राथमिकतामा राखेर संस्थाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। सामाजिक परीक्षण तथा वार्षिक साधारण सभामा सहभागी वक्ताहरूले सृजनशील बालविकास कार्यक्रमले बाल अधिकार संरक्षणसँगै सामाजिक उत्तरदायित्व, पारदर्शिता र समुदायसँगको सहकार्यलाई प्राथमिकता दिँदै अघि बढेको भन्दै संस्थाको निरन्तरताको प्रशंसा गरेका थिए।