तीजमा सुनसान पोखरा ः घरघरमै सीमित भयो पर्व, मेला–महोत्सव रोकिँदा करोडौँको कारोबार प्रभावित

-


     पोखरा क्लिक     
     भाद्र २९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २९, भदौं,

विगतका वर्षहरूमा हरितालिका तीज नजिकिँदै गर्दा रातो पहिरनमा सजिएका महिलाको चहलपहल, तीज गीतका भाकासँगै गुञ्जिने सांस्कृतिक कार्यक्रम र मेला–महोत्सवले भरिभराउ हुने पोखरा यस वर्ष भने सुनसानजस्तै भएको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि शोकमा रहेको मुलुकप्रति ऐक्यबद्धता जनाउँदै पोखराका प्रमुख तीज महोत्सव तथा सामूहिक कार्यक्रम स्थगित गरिएपछि यस वर्षको तीजको रौनक बजारमा देखिएन ।

पोखरामा विगत २७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको लामाचौर तीज महोत्सवसहित विभिन्न स्थानमा हुने तीज गीत प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, मेला तथा महोत्सव स्थगित भएपछि सामूहिक रूपमा तीज मनाउने वातावरणसमेत बनेन् । त्यसको प्रभाव बजारको चहलपहल र व्यापारिक कारोबारमा समेत परेको व्यवसायीहरू बताउँछन् । यस वर्ष महिलाहरूले भने घरघरमै परिवारका सदस्य, दिदीबहिनी तथा आफन्तसँग भेटघाट गरी तीज मनाए। सामाजिक सञ्जाल फेसबुक र टिकटकमा तीजका भिडियो तथा तस्बिर राख्दै पर्वको खुसी साटासाट गर्ने क्रम भने देखियो ।

लामाचौरमा २७ वर्षदेखि आयोजना हुँदै आएको तीज महोत्सव यसपटक स्थगित भएपछि त्यस क्षेत्रको तीजको माहोल नै खल्लो भएको आयोजक नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष इन्जिनियर दिनेश भण्डारीले पोखराक्लिकलाई बताउनुभयो । ‘कोभिड–१९ को समयमा दुई वर्ष बाहेक लगातार २७ वर्षदेखि लामाचौरमा तीज महोत्सव हुँदै आएको थियो । यसपटक देश विपद्मा रहेका बेला उत्सव मनाउनु उपयुक्त नलागेर कार्यक्रम स्थगित गरेका हौँ। त्यसैले लामाचौर क्षेत्रमा पनि तीजको समयमा सुनसानजस्तो अवस्था रह्यो,’ उहाँले हामीलाई भन्नुभयो। समाजले महोत्सव स्थगित मात्र गरेन, कार्यक्रमका लागि संकलन भएको रकम तथा तीज महोत्सव अक्षयकोषको ब्याजसमेत जोडेर रु. १ लाख ११ हजार १ सय ११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, कर्मा फ्लाईस फाउन्डेसनको सहकार्यमा केही दिनअघि उत्तरगया गाउँपालिका ३ को ठुुला गाउँमा बाढी तथा विपद् प्रभावित ३ सय घरपरिवारका लागि करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । पोखराको लामाचौरसँगै बाटुलेचौर, लेकसाइडलगायत क्षेत्रमा हुने तीज विशेष कार्यक्रमसमेत स्थगित हुँदा यस वर्ष तीज विगतको तुलनामा निकै खल्लो भएको महिलाहरूको भनाइ छ । तीजका अवसरमा हुने मेला तथा महोत्सवमा विगतमा लाखौँदेखि करोडौँ रुपैयाँसम्मको कारोबार हुने गरेको थियो । कार्यक्रम स्थगित हुँदा सांस्कृतिक गतिविधिसँगै स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, कपडा तथा अन्य व्यवसायमा समेत त्यसको अप्रत्यक्ष प्रभाव परेको देखिएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले विपद्का बेला मेला तथा महोत्सव नगर्न प्रशासनले आग्रह मात्र गरेको अवस्थामा आयोजक, संघसंस्था र सर्वसाधारणले त्यसलाई सकारात्मक रूपमा लिएर साथ दिएको बताउनुभयो । ‘विपद्को समयमा धेरै संघसंस्था र महिला दिदीबहिनीहरूले तीजको दर तथा मेला–महोत्सव स्थगित गरेर प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नुभएको छ । आगामी दिनमा पनि देशको घटना र वस्तुस्थितिलाई मध्यनजर गरेर मात्र यस्ता कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दछौँ,’ उहाँले भन्नुभयो । यस वर्षको तीजले पोखरामा उत्सवभन्दा पनि विपद्मा परेका नागरिकप्रतिको ऐक्यबद्धता र मानवीय संवेदनालाई प्राथमिकता दिएको सन्देश दिएको छ । तिजको अवसरमा करिब एक महिना अघिदेखि पार्टी प्यालेस रेष्टुरेण्टहरुमा दिदी बहिनीको चहलपहल हुने गरेको भए पनि यस बर्ष निकै कम भएको थियो । त्यसै गरी सुन चादी पसलहरुमा पनि यस बर्षको तिजमा खासै चहल पहल भएन् ।

यसैबिच, पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) र महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)—ले यसवर्षको तीज सांस्कृतिक महोत्सव तथा सामूहिक दर खाने कार्यक्रम रद्द गरेर उक्त रकम बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका छन् ।महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले तीजको दरखाने कार्यक्रमका लागि आफ्ना सदस्यहरूबाट संकलन गरेको रकम बाढी तथा विपद् प्रभावितको राहतका लागि सहयोग गरेको छ । मञ्चले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख २१ हजार १ सय १ रुपैयाँ सहयोग गरेको हो । तीजको अवसरमा दरखाने कार्यक्रम आयोजना गर्न सदस्यहरूबाट संकलन गरिएको रकम विपद्को कठिन समयमा प्रभावित परिवारको राहतमा खर्च गर्ने निर्णय गरी सहयोग गरिएको मञ्चकी अध्यक्ष ममता न्यौपानेले बताउनु भयो । देशका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भइरहेको विषम परिस्थितिलाई मध्यनजर गर्दै पर्यटन उद्यमी महिला संघ नेपाल (टेवान) ले तीज महोत्सव स्थगित गर्दै विपद् प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार १ सय ११ सहयोग गरेको टेवानका अध्यक्ष शोभा पाण्डेले बताउनु भयो । तीजको दरखाने कार्यक्रमसमेत रद्द गरी त्यसका लागि छुट्याइएको रकम विपद् प्रभावित नागरिकको सहयोग गरिएको उहाँले बताउनु भयो ।

बजारमा पनि तीजको प्रभाव देखिएन

पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले यसपटक तीजमा विगतको जस्तो उत्साह बजारमा नदेखिएको बताउनु भयो ।‘सामान्यतया तीज आउनुभन्दा एक महिनाअघिदेखि नै बजारमा किनमेलको चहलपहल सुरु हुन्थ्यो। पार्टी प्यालेस, रेष्टुरेन्टदेखि कपडा तथा सुनचाँदीका पसलसम्म दिदीबहिनीको भीड हुन्थ्यो । यसपटक त्यो अवस्था देखिएन,’ गौतमले भन्नुभयो । उनका अनुसार तीजका मेला–महोत्सवले पोखरामा ठूलो आर्थिक कारोबार सिर्जना गर्दै आएको भए पनि यसपटक त्यसमा ठेस लागेको छ । होटल तथा रेष्टुरेन्टसँगै यातायात व्यवसायमा समेत चहलपहल घटेको उहाँले बताउनु भयो । ‘तीज महिलाहरूले वर्षभरिका दुःख, पीडा र भावना गीतमार्फत व्यक्त गर्ने, सबैजना भेला भएर रमाउने पर्व हो । यसपटक त्यो सामूहिकता केही खुम्चिएर घरभित्रै सीमित भयो,’ गौतमले भन्नुभयो ।

राहत कोषमा १ करोड २१ लाखभन्दा बढी

विपद्का समयमा प्रशासनले मेला–महोत्सव नगर्न आग्रह गरेकोमा विभिन्न संघसंस्था तथा सर्वसाधारणले सकारात्मक रूपमा साथ दिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनु भयो । उनका अनुसार हालसम्म ३८ वटा संघसंस्था तथा व्यक्तिले प्रधानमन्त्री राहत कोषमा गरिएको सहयोगको भौचर जिल्ला प्रशासन कार्यालय कास्कीमा पेस गरेका छन्। महाजन ट्रस्ट अहमदाबाद, भारतबाट प्राप्त २ लाख ५१ हजार रुपैयाँसहित हालसम्म १ करोड २१ लाख ४१ हजार ८ सय ३१ रुपैयाँ राहत कोषमा जम्मा भएको बरालले बताउनु भयो ।