
दीननाथ बराल,
पोखरा, २९, भदौं,
कास्कीको रूपा गाउँपालिकामा करिब १ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको ‘वल्ड भिलेज रिसोर्ट’ को निर्माण कार्य उत्साहजनक रूपमा अघि बढेको छ। सूर्योदय होल्डिङ्गस र रूपाकोट रिसोर्टको संयुक्त लगानीमा निर्माण भइरहेको रिसोर्टको पहिलो चरणअन्तर्गतका गैरआवासीय संरचना आगामी २०८४ साल वैशाखसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको श्रोतले जनाएको छ ।

पहिलो चरणमा सोभिनियर हाउस, रेस्टुरेन्ट, बैंक्वेट हल, सांस्कृतिक केन्द्र तथा सेमिनार हल निर्माण सम्पन्न गरी पर्यटक तथा पाहुनालाई गैरआवासीय सेवा प्रदान गर्न रिसोर्ट तयार हुनेछ। पहिलो चरणका संरचना सञ्चालनमा आएपछि दोस्रो चरणअन्तर्गत दुईवटा मुखिया घर तथा थप ५० वटा भिल्ला निर्माणको काम अघि बढाइनेछ। रिसोर्टको निर्माण कार्यको पछिल्लो अवस्थाबारे जानकारी लिन होल्डिङ्गसका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र डाइरेक्टर सुवास मल्लले आयोजनास्थलको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा निर्माणको गति, संरचनाको गुणस्तर र निर्धारित समयभित्र पहिलो चरण सम्पन्न गर्ने विषयमा आवश्यक निर्देशनसमेत दिइएको जनाइएको छ। करिब ७४ रोपनी क्षेत्रफलमा फैलिएको वल्ड भिलेज रिसोर्टमा ५० भन्दा बढी भिल्लामा करिब ११० वटा कोठा रहनेछन्। त्यस्तै, दुईवटा मुखिया घर, सांस्कृतिक केन्द्र, सोभिनियर हाउस, रेस्टुरेन्ट, बैंक्वेट हल, सेमिनार हल, वेलनेस सेन्टर, स्विमिङ पुल, चिया चौतारी तथा सुन्धारालगायतका संरचना निर्माण गरिनेछ। आयोजनाले रिसोर्टलाई केवल आवासीय पर्यटन केन्द्रका रूपमा नभई नेपाली मौलिक संस्कृति, खानपान, जीवनशैली र परम्परालाई पर्यटकसँग जोड्ने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
वल्ड भिलेज रिसोर्टको प्रमुख विशेषता नेपालको मौलिक सांस्कृतिक पहिचानलाई पर्यटन उत्पादनका रूपमा प्रस्तुत गर्नु हो। रिसोर्टले १८औँ शताब्दीको नेपाली जनजीवन, संस्कृति र परम्पराको झल्को पर्यटकलाई दिने अवधारणा अघि सारेको छ। परम्परागत नेपाली वास्तुकला, स्थानीय संस्कृति, मौलिक खानपान र नेपाली जीवनशैलीलाई रिसोर्टको अनुभवसँग जोड्ने योजनाले यसलाई पोखरा क्षेत्रका अन्य परम्परागत रिसोर्टभन्दा फरक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। रिसोर्टमा निर्माण हुने सांस्कृतिक केन्द्रमार्फत नेपाली कला, संस्कृति र परम्परालाई पर्यटकसामु प्रस्तुत गर्ने योजना रहेको छ। यसले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखराको प्राकृतिक सुन्दरतासँगै नेपालको मौलिक सांस्कृतिक अनुभव लिन सक्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
रूपा गाउँपालिकामा यति ठूलो निजी लगानीसहितको पर्यटन आयोजना निर्माण भइरहनुले स्थानीय पर्यटन पूर्वाधार विस्तारसँगै रोजगारी र स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। रिसोर्ट सञ्चालनमा आएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुनुका साथै स्थानीय उत्पादन, कृषि, हस्तकला, खाद्य सामग्री तथा अन्य सेवाको बजार विस्तार हुने सम्भावना रहेको छ। विशेषगरी स्थानीय मौलिक उत्पादन र संस्कृतिलाई रिसोर्टको पर्यटन सेवासँग जोड्न सके यसको आर्थिक प्रभाव अझ व्यापक हुने देखिन्छ। पोखरा आउने पर्यटकलाई पोखरा उपत्यकाबाहिरका नयाँ गन्तव्यसँग जोड्ने दृष्टिले पनि रूपामा निर्माण भइरहेको वल्ड भिलेज रिसोर्टलाई महत्वपूर्ण पर्यटन पूर्वाधारका रूपमा हेरिएको छ। वल्ड भिलेज रिसोर्टले रूपा गाउँपालिकामा पर्यटन पूर्वाधार विस्तारसँगै स्थानीय अर्थतन्त्र, रोजगारी र सांस्कृतिक पर्यटनलाई जोड्ने नयाँ सम्भावना सिर्जना गरेको छ। निर्माण कार्य निर्धारित योजनाअनुसार अघि बढे आगामी वर्षदेखि यसको पहिलो चरणका सेवा सञ्चालनमा आउनेछन्।




