
दीननाथ बराल,
पोखरा, २८ भदौ,
राजधानी काठमाडौं जोड्ने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा बाढीका कारण भासिएको सडक ट्रायलका रूपमा आइतबार केही घण्टा एकतर्फी सञ्चालनमा ल्याइएको छ। सडक निर्माणको बाँकी काम पूरा गर्न भने सोमबार र मंगलबार सडक पूर्ण रूपमा बन्द गरिने भएको छ।
नयाँ ट्र्याक निर्माण गरी सडकको अवस्था परीक्षण गर्न आइतबार साँझ केही घण्टाका लागि मात्र सडकमा रोकिएका अत्यावश्यक सामग्री बोकेका करिब ५० देखि ६० वटा सवारीसाधनलाई एकतर्फी रूपमा आवतजावत गराइएको हो। शर्मा–जेडआईसीजीका प्रतिनिधि इश्वर नेपालका अनुसार सडकको प्रारम्भिक परीक्षण सफल भएको छ। अब सोमबार र मंगलबार सडक निर्माण तथा व्यवस्थापनको बाँकी कामलाई तीव्रता दिइनेछ। काम निर्धारित योजनाअनुसार अघि बढेमा बुधबार बिहानदेखि कृष्णभीरको सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँले पोखराक्लिकलाई जानकारी दिनुभयो।
‘आज ट्रायलका रूपमा सडकमा रोकिएका केही सवारीसाधनलाई मात्रै एकतर्फी रूपमा पार गराइएको हो,’ नेपालले भन्नुभयो, ‘सोमबार र मंगलबार सडक निर्माणको कामलाई निरन्तरता दिएर बुधबारदेखि दुईतर्फी रूपमा सञ्चालन गर्ने गरी काम भइरहेको छ।’उहाँले सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा कृष्णभीरको सडक नियमित रूपमा खुलिसकेको भन्ने भ्रमपूर्ण सूचना आएको भन्दै त्यसबाट प्रभावित नहुन आग्रह गर्नुभयो। उहाँका अनुसार आइतबारको आवागमन स्थायी रूपमा सडक खुलेको नभई निर्माणको प्रगति तथा सडकको भारवहन अवस्था परीक्षण गर्ने उद्देश्यले गरिएको ट्रायल मात्र हो।
बाढीले पुरानो सडकको तल्लो भाग कटान गरेपछि पहिलेको सडकभन्दा करिब २० मिटर माथि भिरतर्फ डाँडा काटेर नयाँ ट्र्याक निर्माण गरिएको हो। नयाँ ट्र्याकलाई सम्याउने, आवश्यक प्लेटफर्म बनाउने तथा ग्राभेलिङ र कम्प्याक्सनलगायतका काम भइरहेको जनाइएको छ।नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार आइतबार परीक्षणका क्रममा अत्यावश्यक सामग्री बोकेका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका केही सवारीसाधनलाई एकतर्फी रूपमा सडक पार गराइएको हो। सडकको अवस्था परीक्षणसँगै यातायात सञ्चालनको व्यवहारिक अवस्था बुझ्ने उद्देश्यले ट्रायल गरिएको उहाँले बताउनुभयो।
स्थानीय तहका प्रतिनिधिका अनुसार सोमबार र मंगलबार निर्माणको कामलाई सहज बनाउन सडकमा नियमित यातायात सञ्चालन गरिने छैन। कृष्णभीर सडकखण्डमा केही दिनदेखि रोकिएका ग्यास बुलेट, भारतीय सवारीसाधन तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई आइतबार केही समय मात्र परीक्षणका क्रममा पार गराइएको वेनीघाट गाउँपालिका रोराङ ७ का वडाध्यक्ष कुमार बस्नेतले पोखराक्लिकलाई बताउनुभयो।‘आज केही घण्टाका लागि ट्रायलस्वरूप एकतर्फी सडक खुलाइएको हो,’ गुरुङले भन्नुभयो, ‘तर भोलि र पर्सि सडक निर्माणको काम गर्न पूर्ण रूपमा बन्द हुन्छ। बुधबार बिहानदेखि सडक खुलाउने गरी काम भइरहेको छ।’उहाँले मौसम प्रतिकूल भई ठूलो वर्षा भएमा निर्माणाधीन नयाँ ट्र्याकमा थप समस्या आउन सक्ने भएकाले सडक सञ्चालनको विषय मौसम तथा निर्माणको अवस्थासँग पनि जोडिएको बताउनुभयो।गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको सडकखण्डमा ठूलो क्षति पुगेको थियो। बाढीले सडकको तल्लो भाग कटान गरेपछि भदौ १४ गते सडक भासिएर पृथ्वी राजमार्गको आवागमन पूर्ण रूपमा प्रभावित भएको थियो। त्यसयता काठमाडौं आउने–जाने ठूला तथा साना सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका छन्।
कृष्णभीरमा सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा दैनिक उपभोग्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास तथा अन्य अत्यावश्यक वस्तुको ढुवानीसमेत प्रभावित हुँदै आएको छ। वैकल्पिक मार्ग सीमित भएकाले लामो दूरीका सवारीसाधन र यात्रुले घुमाउरो बाटो प्रयोग गर्नुपरेको छ।राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने पृथ्वी राजमार्गको यो खण्डमा सामान्य अवस्थामा दैनिक १४ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन्। त्यसैले कृष्णभीरको सडक अवरुद्ध हुँदा यसको प्रत्यक्ष असर यातायात, ढुवानी तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा परेको छ। निर्माण कम्पनी तथा सडक आयोजनाले नयाँ ट्र्याक निर्माणको कामलाई प्राथमिकतामा राख्दै आवश्यक उपकरण र जनशक्ति परिचालन गरेका छन्। दुई दिन सडक पूर्ण रूपमा बन्द गरेर निर्माण कार्यलाई तीव्रता दिई बुधबारदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ।




