
पोखरा,
रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट वसन्त गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ। शनिबार सम्पन्न अधिवेशनबाट गौतमको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन अधिकृत चौबहादुर गुरुङले जानकारी दिनुभयो।

नवनिर्वाचित कार्यसमितिको निवर्तमान अध्यक्षमा विश्वराज पौडेल, प्रथम उपाध्यक्षमा विकास भट्टराई, द्वितीय उपाध्यक्षमा योगेश भट्टराई, महासचिवमा वीरेन्द्र शेरचन, सचिवमा रोशन जंग कार्की, कोषाध्यक्षमा सुरेश न्यौपाने र सह–कोषाध्यक्षमा सफल थापा चयन हुनुभएको छ।त्यसैगरी कार्यसमिति सदस्यमा वैभव पौडेल, भीष्मराज पौडेल, लोकेश ढकाल, कृष्ण अधिकारी, सुमन भट्टराई, सुनिलबहादुर भट्टराई, राजबहादुर भुजेल र वसन्त न्यौपाने निर्वाचित हुनुभएको छ।

पर्यटन क्षेत्रमा चार दशकको अनुभव
नवनिर्वाचित अध्यक्ष वसन्त गौतम पोखराको पर्यटन तथा आतिथ्य क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका व्यवसायी हुनुहुन्छ। सामान्य कामदारका रूपमा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका गौतमले आफ्नो मेहनत, निरन्तरता र दूरदर्शी सोचका कारण सफल पर्यटन व्यवसायीका रूपमा पहिचान बनाउनुभएको छ। पर्यटन क्षेत्रमा करिब ४० वर्षको अनुभव हासिल गर्नुभएका उहाँ तीन दशकभन्दा लामो समयदेखि पर्यटन व्यवसायमा नेतृत्वदायी भूमिकामा सक्रिय हुनुहुन्छ।
गौतमको सक्रियता तथा लगानीमा पोखराको लेकसाइडमा विभिन्न प्रतिष्ठित पर्यटन तथा आतिथ्य व्यवसाय सञ्चालनमा छन्। उहाँ चारतारे बुटिक रिसोर्टका रूपमा परिचित टेम्पल ट्री रिसोर्ट एण्ड स्पाका अध्यक्ष हुनुहुन्छ। त्यस्तै, इटालियन परिकारका लागि परिचित क्याफे कन्सर्टो र मेडिटेरेनियन तथा अन्तर्राष्ट्रिय स्वादका परिकारका लागि परिचित मेड फाइभ रेस्टुरेन्ट पनि उहाँको व्यावसायिक यात्राका महत्वपूर्ण प्रतिष्ठान हुन्।शून्यबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरी पर्यटन, आतिथ्य सत्कार र गुणस्तरीय सेवाको विकासमा लामो समयदेखि योगदान दिँदै आउनुभएका गौतम पोखरेली पर्यटन उद्योगका अनुभवी तथा प्रेरणादायी व्यवसायीका रूपमा परिचित हुनुहुन्छ।
फेवाताल संरक्षणमा व्यवसायीको भूमिका आवश्यक मेयर आचार्य
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवाताल संरक्षणमा स्थानीय व्यवसायीहरूको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। फेवाताल क्षेत्रमा जथाभावी बियर बिक्री गर्दा स्थानीय व्यवसायीहरूले त्यसको विरोध नगरेको उल्लेख गर्दै मेयर आचार्यले महानगरपालिकाले त्यस्ता गतिविधि हटाउन खोज्दा उल्टै धम्की आउने गरेको बताउनुभयो। पोखराका केही प्रतिष्ठित व्यवसायीले समेत ढल निकास फेवातालमा मिसाउने गरेको उहाँको आरोप थियो।उहाँले पोखराको पर्यटन विकाससँगै वातावरण संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले चालु आर्थिक वर्षमा बोर्डले पर्यटन प्रवर्द्धनमा बढी केन्द्रित भएर काम गरिरहेको बताउनुभयो। भौतिक पूर्वाधार विकासमा भने तुलनात्मक रूपमा कम प्राथमिकता दिइएको उहाँले उल्लेख गर्नुभयो। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पोखरामा पर्यटकको शान्ति तथा सुरक्षाका लागि प्रशासनले आवश्यक सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।पोखरा पर्यटन परिषदका अध्यक्ष हरि बहादुर भुजेलले कृष्णभिर पहिरोको कारण पोखरामा पर्यटन क्षेत्रमा ठुलो असर परेको बताउनु भयो । कार्यक्रम रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न सरकारी निकाय, पर्यटन क्षेत्र, व्यवसायी तथा संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अधिकारकर्मी रामबहादुर पौडेल र पत्रकार बर्षा सम्मानित

यसै अवसरमा नागरिक समाज कास्कीका संस्थापक संयोजक, अधिकारकर्मी एवं वातावरण संरक्षणकर्मी रामबहादुर पौडेल सम्मानित हुनुभएको छ।

त्यसै गरी जमुना शर्मा बर्षा सम्मानित हुनु भएको छ । उहाँ नेपाल पत्रकार महासंघ गण्डकीको हाल महासचिव हुनुहुन्छ ।उहाँहरुलाई मेयर आचार्य सहित पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई, गोपीबहादुर भट्टराई, नरेश भट्टराई, सुर्य बहादुर भुजेल लगायतले सम्मानत गर्नु भएको थियो ।



