पोखरा पर्यटन परिषदको पदाधिकारी चयनसँगै पदस्थापना

-


     पोखरा क्लिक     
     भाद्र २३ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा पर्यटन परिषद्को नयाँ कार्यसमितिले पूर्णता पाउँदै पदाधिकारी चयनसँगै पदस्थापना गरेको छ। परिषद्को २६औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट निर्वाचित अध्यक्ष हरि भुजेलले विधानअनुसार पदाधिकारी मनोनीत गरेसँगै आज (मंगलबार) नवनिर्वाचित कार्यसमितिको पदस्थापना गरिएको हो।

परिषद्को प्रथम उपाध्यक्षमा हरिराम अधिकारी र द्वितीय उपाध्यक्षमा नारायणप्रसाद सुवेदी मनोनीत भएका छन्। अधिकारी ग्लोबल भ्याकेसन ट्राभल्स एन्ड टुर्सका सञ्चालक तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका पूर्वअध्यक्ष हुन्। सुवेदी ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन (टेसा) का पूर्वअध्यक्ष हुन्। यसैगरी नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) का मिलन तिवारी महासचिव, नेपाल टुरिस्ट भेहिकल एसोसिएसन (एनटिभिए) का बाबुराम पाण्डे सचिव र गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) की शोभा अधिकारी सापकोटा सहकोषाध्यक्षमा मनोनीत भएकी हुन् । परिषद्को कोषाध्यक्ष पद भने हाल रिक्त रहेको छ। कार्यसमितिमा जीवनराज सापकोटा र सुनिलबहादुर भट्टराई सदस्य छन्। बाँकी दुई सदस्य पनि मनोनीत गर्न बाँकी रहेको परिषद्ले पोखराक्लिकलाई जनाएको छ। परिषद्का निवर्तमान अध्यक्ष तारानाथ पहारी रहेका छन्।

हालै सम्पन्न परिषद्को अधिवेशनले हरि भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो। अधिवेशनबाट चार जना सदस्यसमेत सर्वसम्मत चयन भएका थिए। परिषद्को विधानअनुसार निर्वाचित तथा मनोनीत सदस्यमध्येबाट अध्यक्षले आवश्यक पदाधिकारी मनोनीत गर्ने व्यवस्था छ। मंगलबार आयोजित पदस्थापना कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई अध्यक्ष भुजेलले पद तथा गोपनीयताको शपथ गराएका थिए । सो अवसरमा निवर्तमान अध्यक्ष पहारीले परिषद्को कार्यसमितिको माइन्यूट नवनिर्वाचित अध्यक्ष भुजेललाई हस्तान्तरण गरे।

पदस्थापन पछि बोल्दै अध्यक्ष भुजेलले आफ्नो नेतृत्वलाई विश्वास गरी जिम्मेवारी दिएकोमा परिषद्सँग आबद्ध पर्यटन व्यवसायी तथा अधिवेशनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले पोखराको पर्यटनलाई थप गतिशील बनाउन निजी क्षेत्रबीच सहकार्यसँगै सरकारसँगको समन्वयलाई प्राथमिकतामा राखिने बताए । नेपालमा पछिल्लो समय बाढीपहिरोका कारण पर्यटनका विषयमा नकारात्मक सन्देश प्रवाह भएको उल्लेख गर्दै भुजेलले वास्तविक अवस्था अन्तर्राष्ट्रिय पर्यटन बजारसम्म पुर्‍याउनुपर्ने बताए। नेपालका सुरक्षित तथा सञ्चालनमा रहेका पर्यटकीय गन्तव्यबारे स्पष्ट र सही सूचना प्रवाह गरी पर्यटकलाई नेपाल भ्रमणका लागि विश्वस्त बनाउनेतर्फ परिषद्ले पहल गर्ने उनको भनाइ थियो।

पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन हबका रूपमा विकास गर्न हवाई सम्पर्क विस्तारलाई प्राथमिकतामा राख्ने योजना पनि उनले सुनाए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्दै फ्लाई दुबईको उडानलाई सफल बनाउनेतर्फ निजी क्षेत्रबाट आवश्यक पहल र सहकार्य गरिने उनले बताए। परिषद्ले पोखराको पर्यटनलाई परम्परागत घुमफिरमा मात्र सीमित नराखी वेलनेस र सांगीतिक पर्यटनका नयाँ गतिविधिसँग जोड्ने योजना पनि अघि सारेको छ। अन्तर्राष्ट्रियस्तरका सांगीतिक कार्यक्रम पोखरामा आयोजना गर्दै पर्यटन बजारमा पोखराको छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य रहेको अध्यक्ष भुजेलले बताए।

पोखराका पर्यटनसम्बद्ध विभिन्न १४ वटा संस्थाका अध्यक्ष परिषद्मा पदेन सदस्य रहने व्यवस्था छ। पर्यटनका विभिन्न विधासँग सम्बन्धित संस्थाहरूलाई एउटै छातामुनि समेट्दै आएको परिषद्ले नयाँ नेतृत्वमार्फत पोखराको पर्यटन प्रवर्द्धन, व्यवसायीबीच सहकार्य र अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड दिने जनाएको छ। नयाँ कार्यसमितिले पर्यटन व्यवसायीका साझा समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने तथा पोखरालाई सुरक्षित, व्यवस्थित र विविध पर्यटकीय गतिविधिको गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।