
पोखरा,
पोखराको बिरौटा–१७ मा अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकीय सेवासहित राधिका नेत्रालय सञ्चालनमा आएको छ। आँखासम्बन्धी जटिल रोगको उपचार तथा शल्यक्रियाका लागि पोखरा तथा आसपासका नागरिकलाई सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले नेत्रालय स्थापना गरिएको हो।

हालै संचालनमा आएको नेत्रालयले रेटिना, मोतियाबिन्दु, आँखाको पर्दासम्बन्धी समस्या लगायतका विभिन्न नेत्ररोगको विशेषज्ञ उपचार तथा शल्यक्रिया सेवा उपलब्ध गराउने जनाएको छ। १५ वर्षभन्दा बढीको चिकित्सकीय अनुभव हासिल गरेका वरिष्ठ नेत्ररोग विशेषज्ञ, फेको तथा रेटिना सर्जन एवं नेत्रालयका मेडिकल डाइरेक्टर डा. अमृत बास्तोलाको पहलमा आफ्नै जन्मथलो पोखरामा राधिका नेत्रालय स्थापना गरिएको हो। व्यावसायिक यात्राका क्रममा हासिल गरेको अनुभव, विशेषज्ञता र आधुनिक प्रविधिलाई आफ्नै ठाउँका नागरिकसम्म पुर्याउने उद्देश्यले नेत्रालय सञ्चालनमा ल्याइएको डा.बास्तोलाले बताए। “आफ्नो जन्मथलोमै अत्याधुनिक नेत्र उपचार सेवा विस्तार गर्ने र विशेषज्ञ उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले राधिका नेत्रालय स्थापना गरिएको हो,” उनले भने। नेत्रालयको नाम डा। बास्तोलाकी माता राधिका बास्तोलाको नामबाट राखिएको हो। आमाको नामलाई सम्मान गर्दै स्थानीयस्तरमै गुणस्तरीय तथा विशेषज्ञ नेत्र उपचार सेवा विस्तार गर्ने उद्देश्य रहेको नेत्रालयले जनाएको छ।
राधिका नेत्रालयमा रेटिना डायग्नोस्टिक्स तथा इमेजिङ, रेटिना सर्जरी, मोतियाबिन्दुको शल्यक्रिया, लेजर थेरापी, ड्राइ आई थेरापी, आँखाको पर्दासम्बन्धी उपचार तथा शल्यक्रिया लगायतका सेवा उपलब्ध हुनेछन्। आधुनिक उपकरण तथा दक्ष जनशक्तिको प्रयोगमार्फत आँखाका विभिन्न जटिल समस्याको पहिचान, उपचार र शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको नेत्रालयको भनाइ छ। नेत्रालयले सञ्चालनको अवसरमा सेवाग्राहीलाई लक्षित गर्दै एक महिनासम्म विशेष ‘ग्रान्ड ओपनिङ अफर’ समेत सार्वजनिक गरेको छ। अफरअन्तर्गत आँखाको आईओपी परीक्षण निःशुल्क गरिनेछ भने रेटिना डायग्नोस्टिक्स तथा इमेजिङ, रेटिना सर्जरी, मोतियाबिन्दु शल्यक्रिया, लेजर थेरापी, ड्राइ आई थेरापी लगायतका सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध गराइने नेत्रालयले जनाएको छ। पोखरा तथा आसपासका क्षेत्रमा विशेषज्ञ नेत्र उपचारको पहुँच विस्तार गर्ने लक्ष्यसहित सञ्चालनमा आएको राधिका नेत्रालयले आधुनिक प्रविधि, अनुभवी विशेषज्ञता र बिरामीकेन्द्रित सेवामार्फत स्थानीयस्तरमा गुणस्तरीय नेत्र उपचारको पहुँच बढाउने अपेक्षा गरिएको छ।




