
पोखरा,
साइकल सिटी पोखराले स्वास्थ्य, वातावरण संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धनसँगै पोखरामा साइकल संस्कृतिको विकास गर्ने उद्देश्यले हरेक महिनाको पहिलो शनिबार नियमित ‘फनराइड’ आयोजना गर्ने क्रममा यसपाली भने पोखरादेसखि तनहुँको ढोरवाराही मन्दिरसम्म गर्ने भएको छ । साइकल सिटी पोखराको आयोजनामा हुने फनराइडमा पोखराबाट करिब ७० जना तथा शुक्लागण्डकी साइक्लिङ क्लबबाट करिब ५० जना साइकलप्रेमीको सहभागिता हुने भएको छ। नियमित साइकल यात्रामार्फत स्वस्थ जीवनशैली, वातावरणमैत्री यातायात र पर्यटन प्रवर्द्धनको सन्देश फैलाउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिन लागिएको साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा साइकल सिटी पोखराका वरिष्ठ सल्लाहकार आनन्दराज मुल्मी, घरपझोङ गाउँपालिका, जोमसोमका अध्यक्ष मोहनसिंह लालचन लगायतको सहभागिता तथा सहकार्य रहने जनाइएको छ। लालचन साइकल सिटी पोखराका संरक्षक सदस्य समेत हुन्। त्यस्तै संस्थाका सल्लाहकार ईश्वर कर्माचार्य र निरज थापालगायतको सहभागिता रहनेछ। नियमित फनराइडलाई केवल मनोरञ्जनात्मक साइकल यात्रामा सीमित नराखी स्वास्थ्य, वातावरण र पर्यटनसँग जोडेर अघि बढाउने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार प्रत्येक महिनाको पहिलो शनिबार हुने कार्यक्रमले पोखरा तथा आसपासका क्षेत्रमा साइकल चलाउने संस्कृतिलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसअघि विश्व साइकल दिवस तथा विश्व वातावरण दिवसको अवसरमा साइकल सिटी पोखराले ‘साइकल चलाऔं, स्वस्थ रहौं, पृथ्वी बचाऔं’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण, वृक्षारोपण र वृहत् साइकल र्याली आयोजना गरिएको थियो। पोखरा–६, लेकसाइडस्थित डिहीको पाटन क्षेत्रमा फलफूल तथा फूलका बिरुवा रोप्नुका साथै गार्डेनमा आउने आगन्तुकको सुविधाका लागि गार्डेन चेयरसमेत हस्तान्तरण गरिएको थियो। मानव अधिकार चोकबाट सुरु भएको वृहत् साइकल र्याली पृथ्वीचोक, बिरौटाचोक, सिर्जनाचोक, सिद्धार्थचोक, नालामुख, मोहरियाटोल, पुरानो टुँडिखेल र हरिचोक हुँदै हेम्जाको सुइखेतस्थित रिभर भ्याली रिसोर्टमा पुगेर समापन भएको थियो।
अध्यक्ष श्रेष्ठले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा बढ्दो वातावरणीय चुनौतीका बीच साइकललाई सस्तो, स्वास्थ्यवर्द्धक र वातावरणमैत्री यातायातको प्रभावकारी विकल्पका रूपमा विकास गर्नुपर्ने बताए। विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको भए पनि दैनिक आवतजावत तथा छोटो दूरीका यात्रामा साइकलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। पोखरामा पछिल्लो समय साइकल प्रयोगकर्ताको संख्या बढ्दै गए पनि आवश्यक पूर्वाधारको विस्तार भने अपेक्षाअनुसार हुन नसकेको श्रेष्ठले बताए। पोखराका केही स्थानमा साइकल लेन तथा साइकल स्ट्यान्ड निर्माणको सुरुवात भए पनि त्यसलाई विस्तार गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ। “पर्यटनको सहर पोखरालाई वास्तविक साइकल सिटीका रूपमा विकास गर्न साइकलमैत्री पूर्वाधार आवश्यक छ,” श्रेष्ठले भने, “नियमित फनराइडजस्ता कार्यक्रमले साइकलप्रतिको आकर्षण बढाउनुका साथै स्वस्थ जीवनशैली, वातावरण संरक्षण र दिगो पर्यटनको सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।” साइकल सिटी पोखराले नियमित फनराइडलाई निरन्तरता दिँदै स्थानीय साइकलप्रेमी, विभिन्न साइकल क्लब, पर्यटन व्यवसायी तथा सम्बन्धित संघसंस्थालाई समेत जोडेर पोखरालाई साइकलमैत्री पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।




