
दीननाथ बराल,
पोखरा, १ भदौ,
हाल देश भर खाना पकाउने ग्यास अभाव भएको अबस्थामा पोखरा महानगरपालिका वडा नं. २२ (पुम्दी–भुम्दी) का २ सय परिवारलाई बिद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिएको छ । बजारमा ग्यास अभाव हुन थाले पछि वडाबासीलाई त्यसको विकल्पका रूपमा पोखरा २२ वडा कार्यालयले विद्युतीय (इण्डक्सन) चुल्हो वितरण गर्ने अभियान आज सोमबारदेखि सुरु गरेको हो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा सोमबार पहिलो चरणमा २ सय वटा मात्र चुल्हो वितरण गरिएको पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले बताउनु भयो । करिब ४ हजार २ सय मुल्य पर्ने उक्त चुल्होमा स्थानियले प्रति घर परिवार १ हजार २ सय ३३ रुपैया आफ्नो लगानी गर्नु भएको हो । पोखरा २२ कालावाङ घरेडीमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले स्थानीयवासीलाई इन्डक्सन चुल्हो हस्तान्तरण गरी उक्त अभियानको सुरुवात गर्नु भएको हो । कार्यक्रममा वोल्दै मेयर आचार्यले खाना पकाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सके आयातित एलपी ग्यासमा रहेको परनिर्भरता घटाउनुका साथै स्वदेशमै उत्पादन भएको विद्युतको खपत बढाउन सकिने बताउनुभयो । महानगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै नगरवासीलाई सहज, भरपर्दो र वातावरणमैत्री ऊर्जा उपलब्ध गराउने उद्देश्यले विद्युतीय चुल्हो वितरणलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो । पोखरा वडा नं. २२ का अध्यक्ष हिमलाल बरालले कालाबाङ, भुम्दी लगायतका पाँचवटा टोलमा बसोबास गर्ने परिवारलाई पहिलो चरणमा २ सय वटा चुल्हो वितरण गरिएको बताउनु भयो । खाना पकाउने ग्यासको चरम अभावका कारण नागरिकको दैनिक जीवन प्रभावित हुन थालेपछि सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
“ग्यासको अभावका कारण नागरिकको चुल्हो निभ्ने अवस्था आएपछि तत्कालीन राहतसँगै दीर्घकालीन रूपमा पनि विद्युतको प्रयोग बढाउने उद्देश्यले यो अभियान अघि बढाएका हौँ,” अध्यक्ष बरालले भन्नुभयो, “यस वर्ष वडाका करिब दुई हजार घरधुरीलाई इन्डक्सन चुल्हो उपलब्ध गराउने लक्ष्य छ ।” वडा कार्यालयले चालु आर्थिक वर्ष २०८३÷०८४ मा ‘एक घर, एक इन्डक्सन चुल्हो’ अभियान सञ्चालन गर्ने योजना अघि सारेको छ । यसका लागि वडा कार्यालयले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको लागत साझेदारीमा सञ्चालन हुने कार्यक्रममा उपभोक्ताले चुल्होको मूल्यको ३० प्रतिशत मात्र व्यहोर्नुपर्नेछ भने बाँकी ७० प्रतिशत लागत साझेदार निकाय तथा वडा कार्यालयबाट व्यवस्थापन गरिनेछ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट एक हजार थान र वडा कार्यालयबाट थप एक हजार थान गरी चालु आर्थिक वर्षमा करिब दुई हजार थान इन्डक्सन चुल्हो वितरण गर्ने लक्ष्य राखिएको छ । वडामा करिब दुई हजार दुई सय घरधुरी रहे पनि बसाइँसराइका कारण करिब दुई सय घरधुरी अन्यत्र सरेकाले हाल करिब दुई हजार घरधुरीलाई अभियानमा समेट्न सकिने वडा कार्यालयको अनुमान छ । आवश्यक परे आन्तरिक स्रोतबाट थप चुल्होको व्यवस्था गरिने उहाँले बताउनुभयो । वडा कार्यालयले गत वर्ष परीक्षणका रूपमा उल्लेरी क्षेत्रमा ५० घरधुरीलाई इन्डक्सन चुल्हो वितरण गरेको थियो । रोटरी क्लब अफ न्युरोडको सहकार्यमा सञ्चालन गरिएको उक्त पाइलट कार्यक्रम प्रभावकारी देखिएपछि यस वर्ष वडाका सबै घरधुरीसम्म कार्यक्रम विस्तार गर्न लागिएको अध्यक्ष बरालले जानकारी दिनुभयो ।

वडा सचिव अमृत लामिछानेले इन्डक्सन चुल्होको प्रयोग बढेमा एलपी ग्यासको खपत उल्लेख्य रूपमा घटाउन सकिने बताउनुभयो । आयातित ग्यासमा निर्भरता कम गर्दै स्वदेशमै उत्पादन भएको विद्युतको अधिकतम उपयोग, नवीकरणीय ऊर्जाको प्रवद्र्धन र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । भविष्यमा कार्बन क्रेडिटको सम्भावना समेत तयार गर्ने लक्ष्य रहेको वडाको भनाई रहेको छ । पोखरा महानगरपालिकाको पञ्चवर्षीय नगर ऊर्जा योजनाले सन् २०२९ सम्म महानगर क्षेत्रका २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्होको पहुँच पु¥याउने लक्ष्य लिएको छ । नगर ऊर्जा योजनाअनुसार पोखराको खाना पकाउने ऊर्जामा एलपी ग्यासको हिस्सा ८४.२५ प्रतिशत रहेको छ । त्यस्तै बायोग्यासको हिस्सा ५.२५ प्रतिशत, काठ दाउराको १०.२७ प्रतिशत र विद्युतको हिस्सा भने ०.२३ प्रतिशत मात्र रहेको छ । घरायसी क्षेत्रमा एलपी ग्यासमाथिको निर्भरता अझ उच्च, करिब ९८.४५ प्रतिशत रहेको छ भने व्यावसायिक क्षेत्रमा यसको हिस्सा ८४.२५ प्रतिशत रहेको तथ्यांकले देखाउँछ ।

इन्डक्सन चुल्हो वितरण कार्यक्रममा वडा अध्यक्ष हिमलाल बरालको अध्यक्षतामा पोखरा रत्न तथा पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, वडा सदस्य सञ्जीव गुरुङ, पूर्वप्रधानपञ्च दुर्गाबहादुर गुरुङ, राष्ट्रिय होमस्टे महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक प्रकाशचन्द्र गुरुङ लगायतले ग्यासको अभाव भइरहेको अवस्थामा इन्डक्सन चुल्होको वितरणले स्थानीयवासीलाई तत्काल राहत पुग्नुका साथै दीर्घकालीन रूपमा विद्युतको उपयोग बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वडाले अघि सारेको ‘एक घर, एक इन्डक्सन चुल्हो’ अभियानले ग्यासको आयातमा हुने खर्च घटाउने, स्वदेशी विद्युतको खपत बढाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । स्थानीय दुर्गा बरालले उक्त अभियानले हाल बजारमा ग्यास अभाव भएको अबस्थामा ठुलो राहत हुने बताउदै वडाले वडाबासीको लागि यस्तै कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।




