
पोखरा, ३१ साउन
पोखरा उद्योग वाणिज्य संघको आगामी ७२औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ। भदौ २० र २१ गते हुने महाधिवेशनमा अध्यक्ष पदका लागि यसअघि तीन जनाले उम्मेदवारी घोषणा गरिसकेका छन्। पछिल्लो समय युवा व्यवसायी अर्जुन पोखरेलले पनि सामाजिक सञ्जालमार्फत अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेसँगै अध्यक्षका आकांक्षीको संख्या चार पुगेको छ।
पोखरेलले फेसबुक स्टाटसमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै निजी क्षेत्रका मुद्दालाई खरो रूपमा उठाउने र व्यवसायीका समस्या समाधानका लागि निडर भएर अघि बढ्ने दाबी गरेका छन् । उनले लेखेका छन्, ‘लडिन्छ भनेर डराइयो भने चल्न बिर्सिन सकिन्छ।’ साथै पोखरेली भावनासँग जोड्दै उनले ‘जसो गर, जे गर, जतासुकै लैजाऊ मलाई, यो मन त मेरो पोखरेली हो’ भन्ने सन्देशसमेत दिएका छन्। लामो समयदेखि पोखरा उद्योग वाणिज्य संघमा सक्रिय पोखरेलले सदस्य हुँदै उपमहासचिव, महासचिव र उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। यसअघि दुई पटक अध्यक्ष पदका प्रत्यासीसमेत बनेका उनी यसपटक भने थप तयारीका साथ नेतृत्वको दौडमा आएको उनीनिकट स्रोतको दाबी छ।पोखरेलले निजी क्षेत्रका मुद्दामा प्रभावकारी बहस, व्यवसायीका समस्या समाधान र पोखराको आर्थिक विकासलाई प्राथमिकतामा राख्ने गरी आफ्नो अभियान अघि बढाउने तयारी गरेका छन्। औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेसँगै अब कसरी अघि बढ्ने भन्ने विषयमा व्यवसायी तथा शुभेच्छुकसँग छलफल गरिरहेको बताइएको छ।
अध्यक्ष पदका लागि यसअघि संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतम र वाणिज्य उपाध्यक्ष बलराम आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन्। पोखरेलको प्रवेशसँगै चारै जना प्रत्यासीको आ–आफ्नै संस्थागत अनुभव, एजेन्डा र व्यावसायिक सम्बन्ध चुनावी बहसको विषय बन्न थालेका छन्। वरिष्ठ उपाध्यक्ष बुद्धाचार्यले संघको संस्थागत ‘लेगेसी’ र आफ्नो लामो अनुभवलाई मुख्य आधार बनाएका छन्। महासचिव गौतमले पहिलो महिला अध्यक्ष बन्ने सम्भावनासहित समावेशी र व्यवसायीमैत्री नेतृत्वको एजेन्डा अघि सारेकी छन्। वाणिज्य उपाध्यक्ष आचार्यले संघभित्र विभिन्न जिम्मेवारी सम्हाल्दाको अनुभवलाई नेतृत्वमा रूपान्तरण गर्ने दाबी गरेका छन्।
यता, पोखरेलको उम्मेदवारीलाई भने युवा पुस्ताको सक्रियता र निजी क्षेत्रका मुद्दामा आक्रामक पैरवीसँग जोडेर हेरिएको छ। संघमा सदस्य हुँदै विभिन्न जिम्मेवारी सम्हालेका पोखरेलको यसअघिको संस्थागत अनुभवले पनि उनको उम्मेदवारीलाई थप चासोको विषय बनाएको छ। अध्यक्षका चारै प्रत्यासीले आफ्नो तयारी तीव्र पार्दै व्यवसायी भेटघाट र समर्थन जुटाउने क्रम अघि बढाएका छन्। निर्वाचनको अन्तिम समयसम्म प्यानल हेरफेर, पद बाँडफाँट वा सहमतिको प्रयास हुन सक्ने सम्भावना रहेकाले अहिले चर्चामा रहेका सबै नाम अन्तिम प्रतिस्पर्धीका रूपमा कायम रहन्छन् भन्ने निश्चित भने छैन।
पोखरा उद्योग वाणिज्य संघमा हाल २ हजार ७ सय ३१ सदस्य छन्। निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न पूर्वअध्यक्ष दामु अधिकारीको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन भइसकेको छ। महाधिवेशनको मिति नजिकिँदै जाँदा अध्यक्षसहित अन्य पदमा समेत आकांक्षीहरूबीचको भेटघाट, छलफल र चुनावी गतिविधि थप तीव्र हुने देखिएको छ। संघको हित हुने गरी नयाँ नेतृत्व आउने विश्वास व्यक्त गर्दै संघका अध्यक्ष गोकर्ण कार्कीले हाल आफुहरु साधारण सभा तथा अधिवेसन भव्य रुपमा समापन गर्ने तयारीमा जुटेको पोखराक्लिकलाई बताउनु भयो ।





