
पोखरा,
पोखरा–२६, सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकै विजयपुर खोला तर्ने क्रममा दुई बालकलाई खोलाले बगाएको छ। शनिबार दिउँसो करिब १ बजे विजयबस्तीबाट सक्नेरीतर्फ जाने क्रममा १४ र १५ वर्षीय दुई बालकलाई खोलाले बगाएको स्थानियले बताएका छन् ।
खोलाले बगाउनेमा स्याङ्जाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–१४ छिनेडाँडास्थित आर्मी पल्टनमा बस्दै आएका १४ वर्षीय निकसन गुरुङ र खोटाङ घर भई हाल पोखरा–१४ चाउथेमा बस्दै आएका १५ वर्षीय ओमन राई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी विरेन्द्रकुमार पासवानले पोखराक्लिकलाई बताए । उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको उनले जनाए । सशस्त्र प्रहरीको गोताखोर टोलीसमेत परिचालन गरी विजयपुर खोलामा खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ।
वर्षायाममा विजयपुर खोलामा पानीको बहाव तीव्र हुने भएकाले खोला तर्ने वा जोखिमपूर्ण स्थानमा जाने काम नगर्न प्रहरीले स्थानीयवासी तथा बालबालिकालाई सचेत गराएको छ। अभिभावकले पनि आफ्ना बालबालिकालाई खोला, नदी तथा बाढीजन्य जोखिमबाट टाढा राख्न विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।





