जंगली च्याउ टिप्न गएका १४ जना महिला करिब २५ घण्टापछि जंगलमै सकुशल भेटिए

-


     पोखरा क्लिक     
     श्रावण ४ गते २०८३ मा प्रकाशित


पोखरा,

जंगली च्याउ टिप्न भन्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरेका १४ जना महिलाको टोली करिब २५ घण्टापछि सकुशल फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भिमदत्त नगरपालिका–१९, बागफाँटा दशरथ टोलका १४ जना महिला आइतबार बिहान करिब ११ बजे जंगली च्याउ खोज्न जंगल प्रवेश गरेका थिए। साँझ अबेरसम्म पनि उनीहरू सम्पर्कमा नआएपछि नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासी तथा जिल्ला सुरक्षा समितिको संयुक्त टोली परिचालन गरेर खोजी अभियान सञ्चालन गरिएको थियो।

खोजीका क्रममा उनीहरू आज (सोमबार) दिउँसो करिब १ः१० बजे जंगलभित्रै सकुशल अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार महिलाहरूले जंगलभित्र बाटो बिराएका कारण बाहिर निस्कन नसकेपछि रातभर जंगलमै अलपत्र परेर बिताउनुपरेको थियो। त्यसपछि खोजी टोलीले उनीहरूलाई सुरक्षित रूपमा बाहिर ल्याएको श्रोतले पोखराक्लिकलाई जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले पोखराक्लिकसँग कुरा गर्दै, ूजंगलमा च्याउ खोज्न गएका महिलाहरू बाटो बिराएका कारण रातभर जंगलमै बसेका रहेछन्। खोजी टोली परिचालन गरेर उनीहरूलाई सकुशल उद्धार गरिएको हो,ू बताए।

स्थानीयका अनुसार वर्षायाममा पाइने केही जंगली च्याउको मूल्य प्रतिकिलो करिब १ हजार ८ सय रुपैयाँसम्म पुग्ने भएकाले धेरै स्थानीय त्यसको खोजीमा जंगल जाने गर्छन्। तर, राम्रो आम्दानीको आशामा पर्याप्त तयारी र सुरक्षा सावधानीबिना जंगल प्रवेश गर्नु जोखिमपूर्ण हुन सक्छ भन्ने सन्देश यस घटनाले पनि दिएको छ। जंगली च्याउ संकलन गर्दा विषालु र खानयोग्य च्याउ छुट्याउन कठिन हुने भएकाले विशेषज्ञको पहिचानबिना सेवन गर्नु स्वास्थ्यका लागि गम्भीर जोखिम हुन सक्छ। त्यस्तै, घना जंगलमा प्रवेश गर्दा सञ्चारका लागि मोबाइल फोन, आवश्यक सामग्री तथा आफ्नो गन्तव्यबारे परिवार वा सम्बन्धित निकायलाई जानकारी गराएर मात्र जानुपर्ने सुरक्षा निकायले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले पोखराक्लिकसँग कुरा गर्दै भने“जंगलमा च्याउ खोज्न गएका महिलाहरू बाटो बिराएका कारण रातभर जंगलमै बसेका रहेछन्, खोजी टोली परिचालन गरेर उनीहरूलाई सकुशल उद्धार गरिएको हो ।