पोखराबाट एलजीको ‘इसेन्सियल सिरिज’ सार्वजनिक, नेपाली परिवारको आवश्यकता र बजेटलाई लक्षित गर्दै नयाँ घरेलु उपकरण बजारमा

-


     पोखरा क्लिक     
     असार २० गते २०८३ मा प्रकाशित


पोखरा,

नेपालको चर्चीत ब्राण्ड एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता, जीवनशैली र बजेटलाई केन्द्रमा राख्दै ‘एलजी इसेन्सियल सिरिज’ अन्तर्गतका नयाँ घरेलु उपकरण सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा पोखराको टेम्पल बेल होटलमा आयोजित विशेष कार्यक्रममा नयाँ उत्पादन शृंखलाको औपचारिक अनावरण गरेको हो।

कार्यक्रममा सीजी इलेक्ट्रोनिक्सका जनरल म्यानेजर सन्देश भुर्तेल, डेपुटी जनरल म्यानेजर सचिन गुप्ता, गण्डकी प्रदेश एरिया म्यानेजर सुनिल न्यौपाने तथा पोखराका लागि एलजीका आधिकारिक विक्रेता न्यू साण्ड एण्ड भिजनका सञ्चालक मनोहर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।

‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको यो नयाँ शृंखलामा आधुनिक प्रविधि, उच्च कार्यक्षमता, टिकाउपन र किफायती मूल्यलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। नेपाली परिवारको दैनिक आवश्यकता र स्थानीय वातावरणलाई ध्यानमा राखेर उत्पादनहरू विकास गरिएको डेपुटी जनरल म्यानेजर सचिन गुप्ताले जानकारी दिए। उनका अनुसार एलजीले नेपाली बजारका लागि डबल–डोर रेफ्रिजरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर सार्वजनिक गरेको हो। यी उत्पादनहरूले गुणस्तर र मूल्यबीच सन्तुलन कायम गर्दै आम उपभोक्तालाई आधुनिक प्रविधिको सहज पहुँच उपलब्ध गराउने कम्पनीको विश्वास छ।

सीजी इलेक्ट्रोनिक्सका जनरल म्यानेजर सन्देश भुर्तेलका अनुसार नयाँ डबल–डोर रेफ्रिजरेटरमा फ्रस्ट–फ्री टेक्नोलोजी समावेश गरिएको छ, जसले म्यानुअल डिफ्रोस्टको झन्झट हटाउँछ। यसमा रहेको स्मार्ट मोडले मौसमअनुसार स्वतः सञ्चालन व्यवस्थापन गर्ने सुविधा प्रदान गर्छ। साथै अघिल्ला मोडेलको तुलनामा करिब १० प्रतिशत बढी तरकारी भण्डारण क्षमता उपलब्ध हुने कम्पनीको दाबी छ। भुर्तेलले फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिनमा प्रोशिल्ड मोटर, बीएमसी कभर, आईपीएक्स–४ प्रमाणित वाटर–रेसिस्टेन्ट कन्ट्रोल प्यानल तथा लो–प्रेसर फिल टेक्नोलोजी जस्ता विशेषता समावेश गरिएको बताए। कम पानीको चापमा पनि प्रभावकारी रूपमा कपडा धुने क्षमता यस मेसिनको प्रमुख विशेषता रहेको उनले उल्लेख गरे।

त्यसैगरी नयाँ रुम एयर कन्डिसनरमा ऊर्जा–दक्ष प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ। यसले प्रभावकारी कुलिङ र हिटिङ सुविधा प्रदान गर्नुका साथै परम्परागत नन–इनभर्टर एसीको तुलनामा कम विद्युत् खपत गर्ने दाबी गरिएको छ। वातावरणमैत्री आर–३२ रेफ्रिजरेन्ट र न्यून ध्वनि सञ्चालन प्रणालीका कारण प्रयोगकर्ताले थप सहज अनुभव पाउने कम्पनीको भनाइ छ। कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश एरिया म्यानेजर सुनिल न्यौपानेले एलजीको नयाँ इसेन्सियल सिरिज नेपाली उपभोक्ताको अपेक्षा अनुरूप गुणस्तरीय, भरपर्दो र किफायती विकल्प बन्ने विश्वास व्यक्त गरे। उनले नयाँ शृंखलाले विशेषगरी मध्यमवर्गीय नेपाली परिवारको आवश्यकता पूरा गर्ने बताए।

कम्पनीका अनुसार एलजी इसेन्सियल सिरिजका उत्पादनहरूको बिक्री नेपालभर सुरु भइसकेको छ। प्रारम्भिक मोडेलको मूल्य ४९ हजार ६९० रुपैयाँबाट सुरु हुने जनाएको कम्पनीले यी उत्पादनहरू देशभर रहेका आधिकारिक एलजी ब्रान्ड शप, मल्टि–ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुने जानकारी दिएको छ। सीजी कर्प ग्लोबलअन्तर्गत रहेको सीजी इलेक्ट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको आधिकारिक वितरक हो। कम्पनीले एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरसँग चार दशकभन्दा लामो सहकार्य गर्दै नेपालमा एलजीलाई अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ।