बिहानै पोखरामा बिद्यार्थी बोक्ने ईभि हाईस दुर्घटनामा, विद्यार्थीको सकुशल उद्धार

-


     पोखरा क्लिक     
     असार १९ गते २०८३ मा प्रकाशित


पोखरा, असार १९,

पोखराको मुस्ताङचोकमा आज बिहान विद्यालयको विद्यार्थी बोक्ने ईभि हाइस दुर्घटनामा परेको छ। उक्त गाडीमा सवार दुई विद्यार्थीको सकुशल उद्धार गरिएको छ ।

आज बिहान करिब ६ः२० बजे पोखरा–७, मुस्ताङचोकस्थित चार्जिङ स्टेसनमा ह्याप्पी बोर्डिङ स्कुलको ग १ ख ६६२२ नम्बरको हाइस अनियन्त्रित भई ठोक्किएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले पोखराक्लिकलाई जनाएको छ। दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा गाडीमा रहेका सबै विद्यार्थीको सुरक्षित उद्धार गरिएको थियो। दुर्घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार हाइसका चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ। दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यस घटनाले विद्यालयका सवारीसाधन सञ्चालन गर्दा नियमित प्राविधिक परीक्षण, चालकको जिम्मेवारी र सडक सुरक्षासम्बन्धी मापदण्डको कडाइका साथ पालना गर्नु आवश्यक रहेको सन्देश दिएको छ। विशेषगरी विद्यार्थी बोकेका सवारीसाधनमा उच्च सतर्कता अपनाउनु सबै सम्बन्धित पक्षको साझा दायित्व भएको सरोकारवालाले बताएका छन्। तष्विर सामाजिक संजाल ।