राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशको अधिवेशन शनिबार पोखरामा हुने

-


     पोखरा क्लिक     
     असार १९ गते २०८३ मा प्रकाशित


पोखरा, असार १९,

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो प्रदेश अधिवेशन भोलि(शनिबार) पोखरामा हुने भएको छ। अधिवेशनको उद्घाटनअघि पोखरा महानगरपालिका–८, सिमलचौरस्थित पशुपतिनाथ मन्दिर परिसरबाट झाँकी र्याली, भजन–चुड्का तथा पञ्चेबाजासहितको सांस्कृतिक र्याली निकालिने भएको प्रतिष्ठानले पोखराक्लिकलाई जनाएको छ।

उक्त र्याली सिर्जनाचोक हुँदै साईमन पार्टी प्यालेस पुगेर उद्घाटन समारोहमा परिणत हुने भएको हो । अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब ३०० जनाको सहभागिता रहने अपेक्षा गरिएको प्रतिष्ठानका प्रदेश अध्यक्ष बसन्त बास्तोलाले बताउनु भयो । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम तय भएको छ।

प्रतिष्ठानका महासचिव लेखनाथ तिवारीले अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिने जानकारी दिए। उनका अनुसार ४ जना मनोनीत सदस्यसहित ३५ सदस्यीय प्रदेश कार्यसमिति गठन गरिनेछ भने प्रत्येक जिल्लाबाट प्रतिनिधित्व सुनिश्चित गरिने व्यवस्था गरिएको छ। प्रतिष्ठानका प्रदेश अध्यक्ष बसन्त बास्तोलाले संस्था स्थापना भएदेखि नै लोक भजन, चुड्का, न्यौली, पञ्चेबाजा लगायतका पुराना लोकभाका, बाजा तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले लोकसंस्कृतिको संरक्षणमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै अधिवेशनले संस्थालाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।

प्रतिष्ठानको स्थापना वि.सं. २०६७ सालमा भएको हो। हाल गण्डकी प्रदेशमा संस्थाका ५५० आजीवन सदस्य र करिब १ हजार साधारण सदस्य आबद्ध रहेका छन्। उद्घाटन समारोहमा विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।