पोखरामा महिला हत्या प्रकरणः घटनामा मृतककै भान्जाको संलग्नता

-


     पोखरा क्लिक     
     चैत्र २८ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखराको मुख्य बजार क्षेत्रमै भएको एक महिलाको विभत्स हत्या प्रकरणमा नयाँ तथ्य खुलेको छ। घटनामा मृतककै भान्जाको संलग्नता रहेको पुष्टि भएसँगै प्रहरीले ४८ घण्टाभित्र मुख्य अभियुक्तसहित दुई जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–५, मालेपाटन घर भई हाल वडा नम्बर १८, सेदीमा बसोबास गर्दै आएकी ४२ वर्षीया सिर्जना पौडेल केसीको यही चैत २५ गते साँझ करिब ७ बजे सभागृहचोक नजिकै धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। व्यस्त बजार क्षेत्रमा भएको यस घटनाले स्थानीय सुरक्षामाथि प्रश्न उठाएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार हत्यामा संलग्न मुख्य अभियुक्त २७ वर्षीय सन्तोष भनिने शिशिर केसी स्थायी ठेगाना पर्वत, कुश्मा नगरपालिका–११, शिल्मी र उनका सहयोगी ३२ वर्षीय कुशल परियारलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी नविल कार्कीले बताए । परियारले घटनामा स्कुटर चालक तथा सहयोगीको भूमिका खेलेका थिए।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार यो हत्या आकस्मिक नभई पूर्वनियोजित थियो। पारिवारिक कलह र अंशसम्बन्धी विवादका कारण शिशिरले करिब एक महिनाअघि नै योजना बनाएर हत्या गरेको स्वीकारेका छन्। घटनाको दिन उनीहरूले दिउँसैदेखि सिर्जनाको पसल अगाडि बसेर निगरानी (रेकी) गरेका थिए। साँझ पसल बन्द गरी घर फर्कंदै गरेकी सिर्जनामाथि एक्कासि खुँडा प्रहार गरिएको थियो। शिशिरले टाउकोमा घातक प्रहार गरेपछि उनीहरू स्कुटरमार्फत फरार भएका थिए। घटनामा प्रयोग गरिएको स्कुटर र हतियार प्रहरीले पछि बरामद गरेको छ।

मुख्य अभियुक्त शिशिर यसअघि पनि अभद्र व्यवहार, चोरी तथा डाँका जस्ता विभिन्न आपराधिक गतिविधिमा संलग्न भई पक्राउ परिसकेका एसपी कार्कीले शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । त्यस्तै, सहयोगी कुशल परियार पनि लागूऔषधसम्बन्धी मुद्दामा सजाय भोगिसकेका व्यक्ति हुन्। सिर्जना पौडेल केसी एकल महिला थिइन्। उनका श्रीमानको दुई वर्षअघि निधन भएको थियो र उनी सानो छोरीसहित जीविकोपार्जनका लागि पोखरामा जुत्ता पसल सञ्चालन गर्दै आएकी थिइन्। श्रीमानको पहिलो श्रीमतीतर्फका सन्तानसँग अंश विवाद चलिरहेको थियो, जसले अन्ततः यो दुःखद घटनाको रूप लिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

घटनापछि गम्भीर घाइते भएकी सिर्जनालाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। हाल प्रहरीले पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ। साथै, घटनामा अन्य व्यक्तिहरूको संलग्नता रहेको हुनसक्ने आशंकामा थप अनुसन्धान जारी रहेको छ।