
पोखरा,
कास्की प्रहरीले अवैध रूपमा चोरी निकासी भइरहेको कटपिस ढुङ्गासहित दुई वटा बोलेरो जिप नियन्त्रणमा लिएको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१९ चितेपानीस्थित सडक खण्डबाट ती सवारी साधन पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार चितेपानी क्षेत्रमा अवैध रूपमा ढुङ्गा ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि विशेष टोली परिचालन गरिएको थियो। सोही क्रममा पोखरातर्फ आउँदै गरेका ग ३ च ४१६३ र ग २ च २५९ नम्बरका बोलेरो जिपलाई रोकेर जाँच गर्दा दुवै सवारीमा कटपिस ढुङ्गा लोड गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले जाँचका क्रममा ढुङ्गाको स्रोत खुल्ने तथा ढुवानीका लागि आवश्यक पर्ने कुनै पनि आधिकारिक कागजात चालक वा सवारीधनीसँग नभेटिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार अवैध रूपमा ढुङ्गा चोरी निकासी भइरहेको पुष्टि भएपछि ती सवारी साधन नियन्त्रणमा लिइएको हो। उनले भने, “गोप्य सूचनाका आधारमा गरिएको चेकजाँचमा कागजातविहीन रूपमा ढुङ्गा ढुवानी भइरहेको पाइएपछि कारबाहीका लागि नियन्त्रणमा लिइएको हो।” प्रहरीले नियन्त्रणमा लिएका दुवै बोलेरो जिप र त्यसमा रहेको ढुङ्गा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाएको जनाएको छ।




