नेलम्बो नेपालको माछापुच्छ्रेमा दुई दिने निःशुल्क दन्त तथा कान शिविर, ५ सयभन्दा बढी लाभान्वित

-


     पोखरा क्लिक     
     चैत्र ३ गते २०८२ मा प्रकाशित


पोखरा,

शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा क्रियाशील सामाजिक संस्था नेलम्बो नेपालले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको समन्वयमा वडा नं. ५ स्थित रिभान स्वास्थ्य चौकीमा सञ्चालन गरेको दुई दिने निःशुल्क दन्त तथा कान शिविरबाट ५०० भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्।

शिविरमा दाँत तथा कान सम्बन्धी विविध सेवा प्रदान गरिएको थियो। दन्ततर्फ दाँत परीक्षण, दाँत भर्ने, सफा गर्ने, निकाल्ने, एक्स–रे गर्ने, दाँत मिलाउने, गिँजाको उपचार लगायतका सेवा दिइएको थियो भने कानतर्फ कान परीक्षण, कान सफा गर्ने, सुनुवाइ जाँच, माइक्रो सक्सन विधिबाट उपचार, औषधि वितरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको नेलम्बो नेपालका कार्यक्रम संयोजक भिम प्रसाद भण्डारीले जानकारी दिनुभयो। माछापुच्छ्रे गाउँपालिका वडा नं। ५ का वडा अध्यक्ष नारायण प्रसाद पौडेलले नेलम्बो नेपालले प्रदान गरेको सेवाको गुणस्तर उच्च रहेको र सेवाग्राहीहरू पूर्ण रूपमा सन्तुष्ट रहेको बताउनुभयो। उहाँका अनुसार यसअघि पनि दुई वर्षअघि सोही स्थानमा यस्तै शिविर सञ्चालन गरिएको थियो र स्थानीयको अत्यधिक मागका कारण पुनः दुई दिने शिविर आयोजना गरिएको हो।

उहाँले यस्ता निदानात्मक स्वास्थ्य शिविरहरू गाउँपालिकाका सबै वडामा वार्षिक रूपमा सञ्चालन गर्न सकेमा स्थानीयले मुख तथा कान स्वास्थ्यका लागि महँगो खर्च व्यहोर्नु नपर्ने धारणा व्यक्त गर्नुभयो। साथै शिविरबाट सेवा लिएका सबै सेवाग्राही सन्तुष्ट रहेको उल्लेख गर्दै नेलम्बो नेपालप्रति धन्यवाद व्यक्त गर्नुभयो। नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले संस्थाले संख्यात्मकभन्दा गुणात्मक सेवामा जोड दिएको बताउँदै शिविरमार्फत प्रदान गरिएका सम्पूर्ण सेवा उच्चस्तरीय रहेको दाबी गर्नुभयो। उहाँले आवश्यकताअनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिन सकिने पनि उल्लेख गर्नुभयो। शिविरमा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. साजन वराल, डा.विनोद वराल तथा बीडीएस डा. दीक्षा क्षेत्री लगायत १३ जनाको स्वास्थ्यकर्मी टोली उपचारमा खटिएको थियो। कार्यक्रम रिभान स्वास्थ्य चौकीका प्रमुख युवराज शर्माले सञ्चालन गर्नुभएको थियो।