पोखरामा २१ औं खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता विहिबार देखि हुने (भिडियो सहित) ७ देशका १४ महिला सहित ९० प्याराग्लाईडिङ पाइलट पोखराको आकासमा ..

-


     पोखरा क्लिक     
     चैत्र २ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २, चैत,

नवौं राष्ट्रिय खेलकुदका क्रममा निसिम थापाको प्याराग्लाईडिङ उडानको क्रममा दोश्रो दिनमा दुर्घटनामा परी ज्यान गएसंगै स्थगित भएको सोलो प्याराग्लानईडिङ सहितको प्रभावित भएको खुल्ला नेपाल प्याराग्लाईडिङ च्याम्पियनसिपको २१ औं संस्करण यही चैत ५ गतेदेखि पोखरामा सुरु हुने भएको छ । पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको २१ औं संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको ९० प्रतिशत तयारी पूरा भएको आज (सोमबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा यही चैत ७ गतेसम्म ३ दिन पोखरामा सञ्चालन हुने प्रतियोगितामा नेपाल सहित विभिन्न ७ देशका १४ महिला सहित ९० जना प्याराग्लाइडिङ पाइलटले सहभागिताका लागि नाम दर्ता गराइसकेको प्रतियोगिताका संयोजक सुनिलबहादुर भट्टराईले बताउनु भयो । प्रतियोगितामा भारत, चीन, साउदी अरेबिया, उज्वेकिस्तान, इटाली र लेबनानका खेलाडीहरूले पनि सहभागिता जनाउने भएका हुन् । प्रतियोगिता एक्युरेसी विधामा सञ्चालन गरिनेछ । प्रतियोगिताको टेकअफ स्थल सराङकोट रहनेछ भने फेवाताल किनारस्थित खपौदी क्षेत्रमा ल्याण्डिङ गर्ने तयारी गरिएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले जानकारी दिनुभयो । फेब्रुअरीमा हुने प्रतियोगिता निर्वाचनको कारणले गर्दा मार्चमा गर्नु पर्दा यस बर्ष क्रस कन्ट्री तर्फको विधा भने समेट्न नसकिएको आयोजक नाले जनाएको छ ।

प्रतियोगितामा पुरुष र महिलातर्फ एक्युरेसी व्यक्तिगत तथा टिम विधामा प्रतिस्पर्धा हुनेछ । व्यक्तिगततर्फ प्रथम हुने खेलाडीले पुरुष तर्फ १ लाख ५० हजार, द्वितीयले १ लाख र तृतीयले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। टिमतर्फ प्रथम हुने टोलीले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्। महिला तर्फ विजेता हुनेले ७५ हजार, उपविजेता हुनेले ५० हजार र तेश्रो हुनेले २५ हजार प्राप्त गर्ने भएको हो । प्रतियोगिता सञ्चालनका लागि करिब ३० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । उक्त रकम सदस्य कम्पनीहरू, पाइलटहरू, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिका, प्रदेश खेलकुद परिषद् गण्डकी लगायत विभिन्न संघसंस्था तथा सहभागिता शुल्कबाट संकलन गरीने भएको छ ।

खेलको सुरक्षालाई प्राथमिकतामा राखिएको टेक्निकल तथा सेफ्टी निर्देशक योगेशबहादुर भट्टराईले बताउनु भयो । प्रतियोगिताको क्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, उद्धार टोली तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहनेछन् भने मणिपाल शिक्षण अस्पतालको मेडिकल टोली पनि खटाइने उहाँले जनाउनु भयो । सबै सहभागी खेलाडीको अनिवार्य बीमा समेत गरिएको आयोजकले जनाएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले साहसिक खेल पर्यटनको प्रमुख गन्तव्यका रूपमा पोखरालाई थप प्रवद्र्धन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा आउने पर्यटकका लागि प्याराग्लाइडिङ छुटाउनै नहुने साहसिक खेलकुद रहेको बताउदै उहाँले चाइनिज पर्यटकहरुको करिब ७० प्रतिशत प्याराग्लाईडिङ गर्ने पहिलो चहाना हुने दाबी गर्नुभयो । फेवातालको आकाशमा तीन दिनसम्म चल्ने प्रतियोगिताबाट गण्डकी प्रदेशस्तरीय खेलाडी छनोटसमेत गरिने भएको ना का महासचिव वलराम आचार्यले बताउनु भयो ।कोरोना महामारी र प्रशासनिक कारणले विगत पाँच वर्षदेखि स्थगित रहेको प्रतियोगिता पुनः सञ्चालन हुन लागेसँगै पोखराको साहसिक खेल पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको ना का प्रथम उपाध्यक्ष खेमराज आचार्यले बताउनु भयो ।