
पोखरा, २ चैत,
पोखराका तीन जना युवा व्यवसायीले एच टि सि मोबाइलको बिक्री वितरण सुरु गर्नुभएको छ । एमटिएस ट्रेडर्स प्रा.लि.मार्फत आइतबारदेखि पोखरा बजारमा एच टि सि मोबाइल उपलब्ध गराउन थालिएको हो।
यसअघि रियलमी, इन्फिनिक्स, जेटटी, यूमिडिगी लगायत विभिन्न ब्रान्डका मोबाइल फोन बिक्री वितरण गर्दै आउनुभएका व्यवसायीहरूले अब संयुक्त रूपमा पनि एच टि सि मोबाइलको पोखरा क्षेत्रका लागि बिक्री वितरण सुरु गर्नुभएको हो।संस्थाका अध्यक्ष युवा व्यवसायी तारानाथ आचार्यले पोखरामा एच टि सि मोबाइलले राम्रो बजार पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले ग्राहकको सुविधालाई ध्यानमा राख्दै उक्त मोबाइल फोन किस्ताबन्दीमा समेत उपलब्ध गराइने जानकारी दिनुभयो।
हाल बजारमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडेल १६ हजार रुपैयाँ तथा ६ जीबी र्याम १२८ जीबी ५—जी मोडेल को २४ हजार रुपैयाँमा उपलब्ध रहेको अध्यक्ष आचार्यले बताउनुभयो। कम्पनीका अनुसार थप पाँच वटा नयाँ मोडेल केही दिनभित्रै बजारमा ल्याइने तयारी गरिएको छ। तारानाथ आचार्य, सुमन भट्टराई र मोहन अधिकारीको संयुक्त लगानीमा उक्त व्यवसाय सञ्चालन गरिएको हो। नेपालका लागि एच टि सि मोबाइलको आधिकारिक विक्रेता सारथि इन्टरप्राइजेज रहेको जनाइएको छ।





