पोखराका पर्यटन व्यवसायी देवेन्द्र केसीद्वारा भूमेश्वर विद्यालयमा सहयोग, क्यान्टिन र ल्याब स्थापना गर्ने प्रतिबद्धता

-


     पोखरा क्लिक     
     फागुन १२ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १२ फागुन,

पोखराका युवा पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता देवेन्द्र केसीले कास्कीको अन्नपूर्ण गाउँपालिका ४ सल्यान बांसखर्क स्थित भूमेश्वर आधारभूत बिद्यालयमा विभिन्न सामग्री सहयोग गर्दै क्यान्टिन र ल्याब स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विद्यालय को ६५औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा मंगलबार सम्बोधन गर्दै विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएको एवं कुटी रिसोर्टका सञ्चालक केसीले कार्यक्रमको उद्घाटन गर्दै बिद्यालयमा आवश्यक पर्ने क्यान्टिन र ल्याव स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

आफूले अध्ययन गरेको विद्यालयमा प्रमुख अतिथिको रूपमा उपस्थित भई सहयोग गर्न पाउनु गर्वको विषय भएको उल्लेख गर्दै उहाँले राज्यले गर्नुपर्ने आवश्यक भौतिक पूर्वाधार निर्माणमा पहल गर्ने वचन दिँदै थप आवश्यक सहयोग जुटाउन तथा व्यक्तिगत रूपमा पनि साथ दिने प्रतिबद्धता जनाउनु भएको हो । उक्त अवसरमा अवसरमा केसीले एक थान कम्प्युटर, ३२ इन्चको इन्टरनेट सहितको टेलिभिजन, शुद्ध पिउनेपानीका लागि युरोगार्ड तथा खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुभयो।

बाल्यकाल सम्झँदै “कट्टु लगाएर यही विद्यालयमा पढ्दै हुर्किएको हुँ” भन्दै केसीले सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि समाजमा उल्लेखनीय काम गर्न सकिने उदाहरण प्रस्तुत गर्न विद्यार्थीलाई हौसला दिनुभयो। उहाँले विद्यार्थीहरूलाई उच्च मनोबलका साथ अध्ययनमा केन्द्रित हुन आग्रह गर्नुभयो। कार्यक्रममा विशेष अतिथि अन्नपूर्ण–४ का वडाध्यक्ष आईन्दल गुरुङले केसीजस्ता दाताको सहयोगले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उल्लेखनीय टेवा पुगेको बताउनुभयो। त्यसैगरी किवानिस क्लब अफ पोखरा ले विद्यालयका विद्यार्थी तथा शिक्षक–कर्मचारीलाई पुग्ने गरी ट्र्याकसुट सेट उपलब्ध गराउने घोषणा गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शिक्षक जलदेवी बि.क.ले गर्नु भएको भने शिक्षक आस्था गुरुङले सञ्चालन गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक तोरणबहादुर के.सी.ले पूर्व विद्यार्थी तथा समाजसेवी देवेन्द्र केसीबाट समय–समयमा निरन्तर सहयोग प्राप्त हुँदै आएको पोखराक्लिकलाई जानकारी दिनुभयो। हाल विद्यालयमा ४३ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने ९ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको विद्यालय प्रशासनले जनाएको छ। ग्रामीण भेगको सामुदायिक विद्यालयमा पूर्व विद्यार्थीको सक्रिय सहयोग र प्रतिबद्धताले शिक्षा क्षेत्रमा सकारात्मक ऊर्जा थपिएको स्थानीयले पोखराक्लिकलाई बताउनु भएको छ ।