फेवातालको माथिल्लो भाग श्रोत केन्द्रबाट जलकुम्भी झार हटाउने अभियान सुरु,

-


     पोखरा क्लिक     
     फागुन ११ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ११ फागुन,

पोखरा फेवातालको सिरान भाग तथा श्रोतकेन्द्रमा जलकुम्भी झार हटाउने अभियान सुरु भएको छ । बर्खायाममा ताललाई कुरूप बनाउँदै तीव्र रूपमा फैलिने जलकुम्भीलाई मुहानमै पुगेर नियन्त्रण गर्ने उद्देश्यसहित फागुन ४ गतेदेखि अभियान थालिएको नागरिक समाज कास्कीका अगुवा बृहत सफाई पोखराका अभियान्ता रामबहादुर पौडेलले पोखराक्लिकलाई बताउनु भयो ।

डिभिजन वन कार्यालय कास्कीको ३ लाख रुपैयाँ आर्थिक सहयोग, जलारी समुदायको समन्वय तथा नागरिक समाजको सहकार्यमा अभियान अघि बढाइएको उहाँले जनाउनु भयो । पौडेलका अनुसार बर्खायाममा जलकुम्भी अत्यधिक मौलाएर तालभरि फैलिने हुँदा त्यसलाई पछि हटाउन दशौं लाख रुपैयाँ खर्च हुने गरेको छ । “समस्या दिगो रूपमा समाधान गर्न हामीले यसको मुहानमै पुगेर अहिले सफाइ सुरु गरेका हौँ,” उहाँले भन्नुभयो, “हिउँदमा निकालिएको जलकुम्भी सजिलै सुक्ने भएकाले व्यवस्थापन पनि सहज हुन्छ ।” अभियान अन्तर्गत हाल दैनिक २२ जना जलारी समुदायका सदस्य परिचालन गरिएको छ भने दुई जना थप गरी जम्मा २४ जनाले काम गरिरहेका छन् । उनीहरूलाई दैनिक ४ घण्टा (बिहान ९ः३० बजेदेखि) काममा लगाइने र प्रतिव्यक्ति ६०४ रुपैयाँका दरले सेवाशुल्क प्रदान गरिनेछ । दैनिक करिब १४ हजार रुपैयाँ खर्च हुने गरी काम अगाडि बढिरहेको जनाइएको छ । पोखरा–१८ ढल्केबर, माछा पोखरी क्षेत्रलाई जलकुम्भी फैलिने मुख्य केन्द्र मानिएको छ । वर्षायाम आउनुअघि नै सफाइ सुरु गरिएकाले तालमा जलकुम्भी फैलिन नदिने लक्ष्य राखिएको छ ।

यसैबीच, वातावरण संरक्षणका लागि महाअभियान कास्कीको पूर्वतयारी बैठक तथा नागरिक जागरण कार्यक्रम मार्फत ‘फेवाताल आपतकालीन सफाइ कोष’ स्थापना गरिएको छ । कार्यक्रम संयोजक रामबहादुर पौडेलले व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ प्रदान गरी कोष स्थापना गर्नुभएको हो । त्यसैगरी रेवान पोखराका पूर्वअध्यक्ष एवं माउन्ट कैलास रिसोर्टका संचालक नरेश बहादुर भट्टराईले ५१ हजार ५ सय रुपैयाँ, पोखरा भ्रमण वर्ष २०२६ का संयोजक गोपी भट्टराईले २५ हजार ५ सय रुपैयाँ तथा एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । डिभिजन वन कार्यालय कास्की र जलारी समुदायबीच ज्याला वापत ३ लाख रुपैयाँ सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । कार्यक्रममा विभिन्न संघसंस्था, महिला सञ्जाल, आमा समूह तथा पर्यटन व्यवसायीहरूको उपस्थिति रहदै आएको छ ।

पौडेलले हालै सम्पन्न ६५ मिटर सिमांकनपछि फेवाताल संरक्षण र सौन्दर्यकरणका कामलाई तीव्रता दिन पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्नुभएको छ । दुई दशकदेखि फेवाताल संरक्षण अभियानमा सक्रिय रहँदै आउनुभएका पौडेलले प्रत्येक महिनाको ३ गते बिहान ताल सरसफाइ गर्ने नियमित अभियानलाई निरन्तरता दिइने बताउनुभयो । अभियानले समयमै मुहान क्षेत्र सफा गरी फेवातालको दीर्घकालीन संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ ।