अपाङगता भएका व्यक्तिहरुलाई पोखरामा मतदाता शिक्षा, नमुना मतदान सहित प्रभावकारी तालिम

-


     पोखरा क्लिक     
     फागुन ११ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ११, फागुन,

नेत्रहीन युवा संघ नेपालको आयोजना कास्की शाखाको समन्वयमा पोखरामा अपाङ्गता भएका व्यक्तिहरूका लागि एक दिने मतदाता शिक्षा तथा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बहिरा, दृष्टिविहीन तथा शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा निर्वाचन आयोगका महानगरपालिका मतदाता शिक्षा समन्वयकर्ता ईश्वरी पोखरेलले सहजीकरण गर्नुभएको थियो । उहाँले नमुना मतपत्रमार्फत स्वस्तिक छाप कसरी लगाउने, मत बदर हुन नदिन के–के कुरामा ध्यान दिनुपर्ने, सहायता लिएर कसरी मतदान गर्न सकिने लगायत विषयमा मैत्रीपूर्ण र पहुँचयुक्त ढंगले प्रशिक्षण दिनुभयो । संघका अध्यक्ष रामचन्द्र गैरेले १८ वर्ष पुगेका अपाङगता भएका व्यक्तिहरुलाईले आफ्नो मताधिकार प्रभावकारी रूपमा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । “मतदाता शिक्षा पहिलो प्राथमिकता हो,” उहाँले भन्नुभयो, “घरदैलो कार्यक्रममार्फत सबै कुरा प्रष्ट नहुँदा मतदान प्रक्रियाबारे अन्योल रहने गरेको थियो । त्यसैले मत सदर होस् भन्ने उद्देश्यले यो तालिम आयोजना गरेका हौँ ।”

तालिममा सहभागीहरूले आफूहरूलाई पहुँचयुक्त सूचना पर्याप्त रूपमा नपुगेको भए पनि निर्वाचनमा सहभागी हुन उत्साहित रहेको जनाउनु भएको थियो । विशेषगरी पहिलो पटक मतदान गर्न लागेका सहभागीहरूका लागि नमुना मतदान अभ्यास प्रभावकारी बनेको आयोजकको दाबी छ । सहजकर्ता पोखरेलले अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान स्थलमा लाइनमा बस्न नपर्ने, सिधै मतदान अधिकृत, सहायक अधिकृत वा सुरक्षाकर्मीलाई जानकारी गराई प्राथमिकताका साथ मतदान गर्न पाउने कानुनी अधिकार रहेको जानकारी दिनुभयो । उहाँले आफ्नो अमूल्य मत स्वतन्त्र र निर्भीक रूपमा जाहेर गर्न आग्रह गर्दै आवश्यकता अनुसार सहायक व्यक्तिको सहयोगमा मतदान गर्न सकिने स्पष्ट पार्नुभयो ।

शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको मताधिकार सुरक्षित, निष्पक्ष र धाँधलीरहित बनाउन तालिम उपयोगी हुने विश्वास व्यक्त गर्दै पोखरेलले यसबाट सहभागीहरूको मत आफूले रोजेको उम्मेदवारसम्म पुग्ने सुनिश्चितता बढ्ने बताउनुभयो । कार्यक्रममा सहभागीहरूलाई नमुना मतदान गराई व्यवहारिक अभ्यास समेत गराइएको थियो । तालिममा सहभागी दृष्टिविहीन रोज परियारले नमुना मतदानपछि आफूहरू अब आत्मविश्वासका साथ मतदान गर्न सक्षम भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले अपाङगता भएका व्यक्तिहरुलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन थप प्रेरित गर्ने धारणा राख्नुभयो । कार्यक्रमले अपाङगता भएका व्यक्तिहरुलाई सशक्त बनाउँदै समावेशी र पहुँचयुक्त निर्वाचन प्रक्रियातर्फ सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ ।