
काठमाडौं,
नेपाल सरकारले चुनावलाई लक्षित गर्दै लगातार तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। निर्वाचन आयोगको सिफारिसमा सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको हो।
सरकारको उक्त निर्णयसँगै फागुन १८ र १९ गते फागु पूर्णिमा (होलि) का कारण बिदा, त्यसपछि २०, २१ र २२ गते चुनावको बिदा, २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको बिदा परेकाले लगातार सात दिनसम्म बिदा हुने भएको छ। यसरी होलि, निर्वाचन, शनिबार र नारी दिवसको संयोगले करिब एक सातासम्म सरकारी कार्यालयहरू बन्द रहनेछन्। लामो बिदाका कारण सरकारी सेवा प्रवाह, बैंकिङ क्षेत्र, शैक्षिक संस्था तथा निजी क्षेत्रका नियमित गतिविधिमा केही प्रभाव पर्ने अनुमान गरिएको छ।
तर, लामो बिदाले आन्तरिक पर्यटन, यातायात सेवा तथा होटल व्यवसायमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ। विशेषगरी विभिन्न पर्यटकीय गन्तव्यमा घुमफिर गर्नेहरूको संख्या बढ्ने आँकलन गरिएको छ। सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी गरिरहेको जनाएको छ।





