चुनावी रणनीति परिवर्तन गरी आइटीमा केन्द्रित हुन निर्देशन, मुख्य ४ दलबीच प्रतिस्पर्धा हुने संयोजक प्रचण्डको दाबी (भिडियो सहित)

-


     पोखरा क्लिक     
     माघ २८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २८ माघ,

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी रणनीति परिवर्तन गरी सूचना प्रविधिमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिनुभएको छ। आज (बुधबार) पोखरामा आयोजित नेकपा कास्कीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अबको निर्वाचनमा परम्परागत शैली ठुलो भिडभाड सभा सम्मेलन भन्दा डिजिटल पहुँच र घरदैलो अभियान प्रभावकारी हुने बताउनु भएको हो ।

“ठूला सभा गरेर, लाखौं खर्च गरेर भोट धेरै पाउने समय सकिएको छ,” संयोजक प्रचण्डले भन्नुभयो, “अब तपाईँहरू घरघर, टोलटोलमा पुगेर पार्टीको एजेन्डा र विचार पुर्‍याउनुहोस्। आइटीको अधिकतम प्रयोग गर्नुहोस्।” सामाजिक सञ्जालमार्फत फैलाइने फेक र अफवाहको प्रतिवाद गर्न पनि उहाँले आग्रह गर्नुभयो। संयोजक प्रचण्डले अहिलेको अवस्थामा आफ्नो पार्टी कसैसँग पनि चुनावी तालमेल र समीकरण नगर्ने स्पष्ट पार्नुभयो। “अहिले हामी कुनै खालको तालमेल गर्ने पक्षमा छैनौं, आफ्नै खुट्टामा उभिएर जनताको विश्वासको बलमा टेस्ट हुन चाहन्छौं,” उहाँले भन्नुभयो, “हामी यो परीक्षामा उत्तीर्ण हुनेछौं भन्नेमा विश्वस्त छौं।” उहाँका अनुसार नेकपाले १६४ निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको छ भने बागलुङमा मात्र जनमोर्चासँग तालमेल गरिएको छ।

निर्वाचन नसर्ने भन्दै भ्रममा नपर्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो। सरकार, सुरक्षा निकाय, निर्वाचन आयोग तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय गतिविधि हेर्दा निर्वाचन सर्ने सम्भावना नरहेको उहाँको भनाइ थियो। “निर्वाचन नसर्ने भएकाले तपाईँहरू पूर्ण तयारीका साथ होमिनुहोस्,” उहाँले भन्नुभयो। फागुन २१ गतेको निर्वाचन नियमित परिस्थितिको नभई असहज अवस्थाबाट उत्पन्न बाध्यात्मक निर्वाचन भएको उहाँले दाबी गर्नुभयो। जेनजी आन्दोलनपछि बनेको राजनीतिक परिस्थिति उल्लेख गर्दै देशलाई निकास दिन जनतामाझ जानु नै विकल्प भएको उहाँले बताउनुभयो। राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता र देशभित्र विभिन्न शक्तिको चलखेल रोक्न २६ वटा घटकबीच एकता गरी नेकपा स्थापना गरिएको उहाँले स्पष्ट पार्नुभयो। एमालेबाट ठूलो संख्यामा नेता–कार्यकर्ता प्रवेश गरेको दाबी गर्दै उहाँले पार्टीप्रति उत्साह बढेको बताउनुभयो।

पार्टीको चुनाव चिन्ह ‘तारा’मा मतदान गर्न जनतालाई स्पष्ट रूपमा सिकाउनुपर्ने उल्लेख गर्दै उहाँले व्यङ्ग्य गर्नुभयो, “सूर्यभन्दा माथि तारा हुन्छ।” देशमा नेपाली कांग्रेस, एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने चर्चा चलिरहेको उल्लेख गर्दै उहाँले चुनाव मुख्यतः यी चार दलबीच हुने दाबी गर्नुभयो। जनताको विश्वास जित्नेमा आफूहरू ढुक्क रहेको उहाँले बताउनुभयो। नेकपाले सार्वजनिक गरेको घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन, सामाजिक न्याय र आर्थिक विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिँदै उहाँले समाजवादतर्फको रूपान्तरणको नेतृत्व पनि नेकपाले नै गर्ने दाबी गर्नुभयो। कार्यक्रममा नेकपा कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले नेपाली कांग्रेससहित विभिन्न दलका नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेको पोखराक्लिकलाई जानकारी दिनुभयो।