
दीननाथ बराल,
पोखरा २६, माघ,
खेलकुदको शहर पोखरामा आउदो फाग्ुन २ गते (शनिबार) आयोजना हुने २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०८२ को तयारी पूरा भएको छ । सुजल डेरीको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजनामा हुने उक्त म्याराथन (४२ किमि) सहितको २१ वटा इभेण्टको लागि आवश्यक तयारी पूरा भएको आज (सोमबार) पोखरा उधोग बाणिज्य संघको अमृतकक्षमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
यस वर्ष पोखरा म्याराथन अन्तर्गत ४२ किलोमिटरको म्याराथन, हाप म्याराथन (२१ किलोमिटर) सहितका २१ वटा इभेण्टमा प्रतिस्पर्धा हुने गरी ३ हजार ५ सय ६ जना धावकरुले नाम दर्ता गराएको मञ्चका अध्यक्ष दील बहादुर गुरुङले बताउनु भयो । ‘रन फर फन’ सहित करिब १० हजार जना शनिबार पोखरा म्याराथन दौडको अभियानमा सहभागि हुने उहाँले जनाउनु भयो । अन्य विधामा खेलाडी दर्ता बन्द भए पनि रन फर फनको लागि शनिबार पनि स्वत स्फुर्त रुपमा दौडमा सहभागि हुन सकिने मञ्चले पोखराक्लिकलाई जनाएको छ । खुल्ला म्याराथन ४२.१९५ किमि, राष्ट्रिय तथा प्रदेशस्तरीय म्याराथन, ४५ वर्ष माथिको म्याराथन, हाफ म्याराथन महिला–पुरुष, १० किमि दौड, विद्यालयस्तरीय ५ किमि दौड, भेट्रान्स, कर्पोरेट दौड तथा ‘रन फर फन’ समावेश गरिएको उहाँले जनाउनु भयो । प्रतियोगितामा अमेरिका, बेलायत, न्यूजिल्याण्ड, केन्या, नाइजेरिया, बेल्जियम लगायत विभिन्न देशबाट धावकहरूको सहभागिता रहने भएको मञ्चका सचिव महेश पौडेलले बताउनु भयो ।
यस वर्ष २१ वटा स्पर्धामा ७६ जना विजेतालाई कुल रु १९ लाख ९८ हजार नगद पुरस्कार वितरण गरिने भएको अध्यक्ष गुरुङले जनाउनु भयो । म्याराथनतर्फ प्रथम हुनेले रु ४ लाख, द्वितीयले रु २ लाख र तृतीयले रु १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । चौथोदेखि आठौँ स्थानसम्मका खेलाडीलाई पनि नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, दूरी पूरा गर्ने सबै खेलाडीलाई ३ हजार ७ सय फिनिसर मेडल प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । मञ्चका अध्यक्ष दीलबहादुर गुरुङले मञ्चको स्थापना २०५८ सालमा भई राष्ट्रको खेलकुद विकासमा योगदान पु¥याउने उद्देश्यका साथ क्रियाशील रहेको उल्लेख गर्दै पोखरा म्याराथनलाई शहरकै उत्सवका रूपमा विकास गर्दै आएको दाबी गर्नुभयो । “पोखरालाई खेलकुद पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित सिटी म्याराथनको अवधारणामा आधारित भएर यो प्रतियोगिता निरन्तर आयोजना हुँदै आएको छ।” अध्यक्ष गुरुङले भन्नुभयो ।
हरेक वर्ष फागुनको पहिलो साताको शनिबार आयोजना हुँदै आएको पोखरा म्याराथन यस वर्ष फागुन २ गते (शनिबार) हुने भएको हो । यसै अवसरमा अन्तर्राष्ट्रिय म्याराथन धावक सन्तोसी श्रेष्ठ र धरान रनका संस्थापक सन्तोष राईले पोखरा म्याराथनले पोखराको खेलकुद पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको बताउनु भयो । उहाँहरुले यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताले पोखरालाई विश्व खेलकुद मानचित्रमा चिनाउन सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । मञ्चले समावेशितालाई प्राथमिकतामा राख्दै हरेक वर्ष म्याराथन अघि नै ह्वीलचियर र दृष्टिविहीन दौड सञ्चालन गर्दै आएको छ भने यस बर्षको उक्त कार्यक्रम माघ २४ गते गरीसकेको छ । टाइमिङ सहितको चिप्स प्रभावकारी ढंगबाट प्रयोगमा ल्याइने भएको छ ।

यसैबिच वैशाख ८ गते स्मारिका प्रकाशन सहित नेपाली खेलकुद क्षेत्रमा योगदान दिनृ २ जनालाई राष्ट्रिय पुरस्कार घोषणा सहित सम्मान पत्र सहित पदक एवं नगद एक लाखले सम्मान गरीने भएको पूर्व अध्यक्ष तेज बहादुर गुरुङले जनाउनु भयो । सफल दुधले २०८३ सालसम्मको लागि सहकार्य गरेको छ । प्रविधिक रुपमा यसपाली अघिल्ला संस्करणमा भएका कमीकमजोरीलाई सुधार गर्ने प्राविधिक ओम गुरुङले जनाउनु भयो । केही दिन अघि वेलायबाट पोखरा आएको एक जम्बो टोलीलाई पोखरामा मञ्चले स्वागत गरेको थियो । सहारा यूकेका अध्यक्ष सारदा गुरुङ सहितको जम्बो टिम आहा रारा पोखरा गोल्ड कप, पोखरा म्याराथन सहितको खेलकुद कार्यक्रममा सहभागि हुन आउनु भएको हो ।



