जेनजीका माग सम्बोधन गर्दै देशमा नेतृत्व र निकास सहितको दिगो विकास गछौंंः उम्मेदवार थापा (हेम) भिडियो सहित

-


     पोखरा क्लिक     
     माघ २६ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २६ माघ,

नेकपाका उम्मेदवार किरण बहादुर थापा (हेम) ले जेन्जी आन्दोलनपछि मुलुकले असल नेतृत्वको खोजी गरिरहेको अवस्थामा नेकपा नेतृत्व, निकास र विकासको स्पष्ट रणनीतिका साथ जनता माझ आएको बताउनु भएको छ । सोमबार पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित नेकपाको सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले मुलुक हाल अभिभावक विहीन जस्तो अवस्थामा पुगेको टिप्पणी गर्नुभयो ।

उम्मेदवार थापाले कुनै समय नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले देशको अभिभावकत्व गर्दै नेतृत्व सम्हालेको स्मरण गर्दै वर्तमान अवस्थामा त्यो जिम्मेवारी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को काँधमा आएको दाबी गर्नुभयो । उहाँले केपी शर्मा ओलीको दम्भ, घमण्ड र भड्काउ अभिव्यक्तिका कारण देश आज गम्भीर संकटतर्फ धकेलिएको आरोप लगाउनुभयो । सम्पूर्ण वामपन्थी शक्तिलाई एकताको सूत्रमा बाँध्ने जिम्मेवारी नेकपाले लिने उल्लेख गर्दै उहाँले प्रजातान्त्रिक शक्तिहरूबीच पनि एकता आवश्यक रहेको धारणा राख्नुभयो । मुलुकको जातजाति, भाषा, धर्म र संस्कृतिको संरक्षणका लागि राष्ट्रिय अभिभावकत्व गर्न सक्ने बलियो शक्ति आवश्यक रहेको र त्यसको विकल्प प्रचण्ड मात्रै भएको उहाँको भनाइ थियो ।
जेन्जी पुस्ताले बगाएको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार थापाले आन्दोलनका सम्पूर्ण माग सम्बोधन गर्ने बाटोमा आफूहरू अग्रसर भएको बताउनुभयो । त्यसका लागि जनताले अमूल्य मत दिनुपर्ने भनाइ थियो ।

देशमा विकास र समृद्धिका लागि सुशासन पहिलो शर्त भएको उल्लेख गर्दै उम्मेदवार थापाले सुरक्षित लगानी वातावरण नहुँदा काठमाडौँ र लेकसाइडका केही व्यवसायीहरू दुबईलगायत मुलुकतर्फ लगानी पलायन गर्न थालेको खुलासा गर्नुभयो । युरोपसम्म नेपाली पूँजी पलायन हुँदा युवा शक्ति पनि स्वतः विदेशिन थालेको उहाँको तर्क थियो । पूँजी र युवामात्र होइन, राष्ट्रिय भावना नै पलायन हुने अवस्थामा पुगेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । यहाँको पूँजी र युवा शक्तिलाई स्वदेशमै परिचालन गर्ने रणनीतिक योजनासहित आफूहरू अगाडि आएको दाबी गर्दै उहाँले निर्वाचित भएमा संसदमा ताली बजाउन मात्र नभई जनताको आवाज र आवश्यक विकास पूर्वाधारमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सम्पर्क कार्यालय नेकपाको भए पनि यसलाई जनताका लागि निर्वाचन आचारसंहिता, जानकारी र सचेतनाको केन्द्र बनाइने बताउँदै उहाँले कांग्रेस, एमाले, रास्वपा र राप्रपालगायत प्रतिस्पर्धी दलका घोषणापत्र र प्रतिबद्धता अध्ययन गरेर विवेकपूर्ण रूपमा अमूल्य मत दिन सबै मतदातालाई आग्रह गर्नुभयो । कार्यक्रममा समानुपातिक उम्मेदवार ज्ञानु आचार्यसहितको टोलीको सहभागिता रहेको थियो । साथै कांग्रेस, एमाले तथा रास्वपाका नेताहरूले समेत कार्यक्रम नजिकबाट अवलोकन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन नेकपाका युवा नेता विपिन आचार्यले गर्नुभएको थियो ।