
पोखरा,
पोखराको फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीको आयोजनामा फ्र्याङ्कलिन कप फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ २२ गतेदेखि २५ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा सञ्चालन हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगिता अन्तर्गत इन्टर ंकलेज फुटसल टुर्नामेन्ट तथा ओपन गल्स फुटसल टुर्नामेन्ट आयोजना गरिने भएको फ्र्याङ्कलिन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक युवा व्यावसायी कमल खडकाले बताए । । इन्टर कलेज तर्फ प्रथम हुने टोलीले ८० हजार रुपैयाँ र द्वितीय हुने टोलीले ४० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खुल्ला महिला तर्फ प्रथम हुने टोलीले १० हजार र द्वितीय टोलीले ८ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलकुद मार्फत युवाको क्षमता अभिवृद्धि र महिला सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खडकाको भनाइ छ । प्रतियोगिताले शिक्षा र खेलकुदलाई जोड्न भूमिका खेल्ने बताउँदै शिक्षासँगै खेलकुद पनि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अत्यन्त आवश्यक रहेको उनले जनाए ।
त्यसैगरी, खेल संयोजक विकास गुरुङले युवामा खेलकुदको रुचि बढाउने र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । खेलमार्फत अनुशासन, सामूहिक भावना र आत्मविश्वास विकास हुने उनले विश्वास व्यक्त गरे । खेलका लागि माघ २० गते भित्र नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष याम्बी आस्थाले खेलकुदको विकासको लागि कन्सल्टेन्सिले उक्त प्रतियोगिता गर्नु प्रशंसनीय कार्य भएको बताए ।



