
पोखरा,
कास्कीमा मोटरसाइकल चोरीमा संलग्न तीन जना बालकलाई प्रहरीले पक्राउ गरेको छ । माघ १० गते दिउँसो करिब ३ बजे कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३० मुसीटुँडाका सिटाराम श्रेष्ठले वडा नं. २९ घोतघोतेस्थित पसल अगाडि पार्किङ गरी राखेको ग ६ प ६६२४ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो ।
उक्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीबाट खटिएको प्रहरी टोलीले ऋऋत्ख् फुटेजको आधारमा अनुसन्धान तथा खोजतलास गर्दै जाँदा तीन जना बालकले मोटरसाइकल चोरी गरी लगेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । अनुसन्धानकै क्रममा मिति २०८२ साल ११ गते बिहान करिब ४ बजे जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. २ गणेश टोलस्थित पृथ्वी राजमार्ग सडकखण्डबाट चोरी भएको उक्त मोटरसाइकलसहित तीन जना कानुनको विवादमा परेका बालकलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँको सहकार्यमा नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका बालकहरूलाई चोरी सम्बन्धी कसूरमा सम्मानित कास्की जिल्ला अदालतबाट पाँच (५) दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।




