पिएम कप ः सांग्रिलाको लगातार दोस्रो जित

-


     पोखरा क्लिक     
     माघ ९ गते २०८२ मा प्रकाशित


प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा सांग्रिला क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको शुक्रबार भएको खेलमा सांग्रिलाले लेकसाइड क्रिकेट क्लबलाई १३४ रनले हराउँदै दोस्रो जित निकालेको हो ।

लेकसाइडले बलिङतर्फ उत्कृष्ट प्रदर्शनी गरेपनि ब्याटिङमा भने निकै कम्जोर देखियो । १८७ रनको विजयी लक्ष्य पाएपनि लेकसाइड १७ ओभरमा ५२ रनमै अलआउट हुन पुग्यो । लेकसाडका केशव सुनार र सुमित रौनियार बाहेक अन्य ब्याटरले खासै अंक जोड्न सकेनन् । केशवले १० र सुमितले ६ रन जोडे । सांग्रिलाको लागि भुवन रेग्मीले ५ विकेट लिए । उनले ७ ओभरमा २ मेडन राख्दै २८ रन खर्चे । सञ्जय नेपालले २ तथा जिवन कोइरालाले १ विकेट लिए ।

त्यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सांग्रिला २८.१ ओभरमा १८६ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाको लागि सिब्रिन श्रेष्ठले ७६ रनको योगदान दिए । राजु खनालले २३ र कुशल नेपालले ३१ रन जोडे । लेकसाइडका लागि चन्दन राउतले उत्कृष्ट प्रर्दशनी गर्दै सर्वाधिक ७ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै मात्र ६६ रन खर्चिए । सन्देश शाहीले २ तथा विकास पाठकले १ विकेट लिए ।

सांग्रिलाका सिब्रिन श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित भए । लेकसाइडको यो दोस्रो हार हो । यस अघि लेकसाइड अरण्यज्योति क्रिकेट क्लबसंग १६ रनको हार व्यहोरेको थियो । सांग्रिलाले यस अघि एभरेष्ट क्रिकेट क्लबलाई ३२६ रनको फराकिलो जित हासिल गरेको थियो । यो संगै सांग्रिलाको स्पष्ट ४ अंक रहेको छ भने लेकसाइड अंकविहिन बनेको छ ।