
दीननाथ बराल,
पोखरा, ८ माघ
खेलकुदको शहर पोखरामा भोलि (शुक्रबार) देखि छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ सुरु हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शुक्रबार देखि सुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आज (विहिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
शुक्रबार दिउँसो २ः०० बजे पछि पुरुष तर्फको गण्डकी भलिवल संघ बिरुद्ध शसस्त्र प्रहरी वलको एपिएफ क्लव बिच खेल हुने भएको आयोजकले जनाएको छ । विहिबार महिला तर्फ विहान ९ः०० बजे टिपटप न्यू डायमण्ड स्पोट्र्स क्लब र विभागिय टोली त्रिभुवन आर्मी क्लव बिचको खेल हुने भएको आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनु भयो । विहिबार पुरुष तर्फ त्रिभुवन आर्मी क्लव बिरुद्ध पाहुना टोली माल्दिप्सको राष्ट्रिय टोलीसंग प्रतिष्प्रर्धा हुने भएको छ । यही माघ १७ गतेसम्म संचालन हुने प्रतियोगितामा विदेशी सहित महिला तर्फ ५ र पुरुष तर्फ भने ६ टिमको सहभागिता हुने भएको छ ।

प्रतियोगितामा महिला तर्फ तीन विभागिय एपिएफ, पुलिस, आर्मी सहभागि हुने भएकाछन भने डायमण्ड र थाइल्याण्ड क्यूविकन्सको समुह गरी ५ टिम सहभागि हुने भएको संस्थाका सचिव डिबी नेपालीले बताउनु भयो । त्यसै गरी पुरुष तर्फ माल्दिप्स सहित तीन विभागिय एपिएफ, पुलिस, आर्मी, गण्डकी प्रदेश भलिवल संघ र पर्वत जिल्ला भलिवल संघ सहभागि हुने भएका हुन् । महिला तर्फ एभरेष्ट भलिवल क्लव सहभागि हुने तयारी गरी पनि प्राविधिक कारणले गर्दा अन्तिम समयमा प्रतियोगितामा सहभागि नभएको अध्यक्ष शर्माले जनाउनु भयो । प्रतियोगिताका संयोजक कुमार गुरुङका अनुसार प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ, जसअन्तर्गत सबै टोलीले एक–आपसमा खेल्नेछन्। लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीहरूबीच प्लेअफ खेलमार्फत विजेता, उपविजेता र तेस्रो स्थान निर्धारण गरिनेछ । प्रतियोगिताबाट प्राप्त हुने बचत रकम स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लगानी गरिने सह–संयोजक डोलराज पोखरेलले जानकारी दिनुभयो । करिब १ करोड ८० लाख रुपैयाँ खर्च अनुमान गरिएको यस प्रतियोगितालाई यस वर्ष अझ भव्य बनाउने तयारी गरिएको आयोजकको दाबी छ ।
प्रतियोगितामा विजेता टोलीले ६ लाख ६६ हजार ६ सय ६६, उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो हुने टोलीले रु २ लाख ६६ हजार ६ सय ६६ प्राप्त गर्नेछन्। त्यसैगरी सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीहरूलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले पोखराक्लिकलाई जनाएको छ । टेक्निकल हेड टहलसिंह थापाले यसपालीको प्रतियोगितामा सकेसम्म विवाद नहुने गरी स्वच्छ ढंगले खेल खेलाउने बताउनु भयो । यसपाली माल्दिप्सबाट अन्तराष्ट्रिय रेफ्रि समेत आएको उहाँले जनाउनु भयो ।



